खेल मैदान बनाउन डडेलधुरामा जताततै बजेट, एउटै छैन खेल मैदान

  शनिबार १०, कार्तिक २०८१ ०७:४३

डडेलधुरा । व्यवस्थित खेल मैदानको अभावमा अमरगढीमा ठुला खेल सञ्चालन हुन सकेको छैन । अमरगढी नगरपालिका–४ मा करिब सय मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको टुँडिखेलमा क्रिकेट र फुटबल प्रतियोगिता गर्न सहज छैन । फराकिलो मैदान नहुँदा अमरगढीमा खेलकुद प्रतियोगिता गर्न चुनौती रहने गरेको छ ।

अमरगढी नगरपालिका–३ को घटालथाननजिक रामलीला मैदान छ । डोटी खोलाकिनार प्राकृतिक मैदानमा क्रिकेट र फुटबलबाहेक अन्य प्रतियोगिता गर्न मिल्छ तर पूर्वाधारका संरचना छैन । असोजको वर्षापछि खोलाको बाढीले मैदानमा माटो भरिएको छ । यी दुई मैदानबाहेक अन्य मैदान नहुँदा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता गराउनसमेत समस्या हुने गरेको छ । जिल्ला खेलकुद विकास कार्यालयका प्रमुख डम्बरबहादुर भण्डारीका अनुसार जेनतेन यी दुई वटै मैदानमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुँदै आएको छ ।

उहाँका अनुसार भित्री मधेशको जोगबुडा परशुराम नगरपालिकामा रङ्गशाला निर्माण गरिएकाले क्रिकेट र फुटबल खेलाउन सकिन्छ । एक वर्ष जोगबुडामा र एक वर्ष अजयमेरुमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गरिएको थियो । टुँडिखेलकै छेउमा २०४२ सालमा निर्माण भएको टिटी कभर्ड हल पनि २०७५ असारको वर्षाले भत्किएको छ । यसको पुनर्निर्माण सम्पन्न भए पनि हस्तान्तरण भएको छैन । 

प्रमुख भण्डारीले टिटी कभर्ड हलमा टेनिस, कराँते, तेक्वान्दो, बक्सिङ प्रतियोगिता गर्न मिल्ने जानकारी दिनुभयो । खेल मैदान र कभर्ड हलको अभावमा खेलाडी उत्पादन हुन नसकेको उहाँको भनाइ छ । तेक्वान्दोका चर्चित खेलाडी दीपक विष्ट, बक्सिङ खेलाडी डम्बरदत्त भट्ट, भारोत्तोलन खेलाडी भरत साउद, एथलेटिक्सकी सरस्वती भट्टराई, क्रिकेट खेलाडी दिलीप नाथ, सन्दिप जोरा, सन्तोष भट्ट, भलिबलकी कविता भट्ट जस्ता खेलाडी डडेलधुराका हुन् । 

खेल मैदानका लागि विभिन्न समयमा रकम नआएको होइन तर शक्ति र हचुवाका भरमा आउने बजेटले जिल्ला सदरमुकाममा एउटा पनि गतिलो खेल मैदान बनाउन नसकिएको खेलकुद विकास समितिका अध्यक्ष डम्बर थापाले गुनासो गर्नुभयो । उहाँका अनुसार अमरगढी नगरपालिका–४, बलिया खेल मैदान निर्माणका लागि ३० लाख र वडा नम्बर ५ को डडेलधुरा बहुमुखी क्याम्पसमा उग्रतारा खेल मैदानका लागि १५ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । यसभन्दा अघि पनि सङ्घ, प्रदेश र स्थानीय सरकारले अलग अलग स्थानमा खेल मैदान बनाउन करोड रुपियाँभन्दा बढी रकम खर्च गरिसकेका छन् तर खेलकुद प्रतियोगिता सञ्चालन गर्न मिल्ने मैदान एउटा पनि निर्माण हुन सकेको छैन ।

यसअघि अमरगढी नगरपालिकाका–२, ३, ४, ६ र ८ मा स्थानीय, प्रदेश र सङ्घ सरकारले अलग अलग खेल मैदान निर्माण गर्ने भन्दै वनको जमिन खनेर छोडेका छन् तर डिपिआर गरिएका खेल मैदानमा बजेट छैन । २०७५ सालमा अमरगढी नगरपालिका–४ स्थित धोबीखोलामा उग्रतारा रङ्गशाला र वडा नम्बर ६ मा भटनेउटा क्रिकेट मैदानका नाममा सङ्घीय सरकारले केही बजेट विनियोजन गरी जमिन खनेको छ । त्यसयता बजेट परेको छैन । वडा नम्बर ६ कै ग्वाला खेतमा प्रदेश सरकारले २० लाख रकम विनियोजन गर्दै क्रिकेट खेलमैदान निर्माण गर्ने भनी जमिन खनेको थियो तर यसमा पनि पछिल्ला वर्षमा बजेट छैन । यसै गरी वडा नम्बर ८ खोलाखेतमा अमरगढी नगरपालिकाले क्रिकेट खेलमैदान निर्माण गर्ने भन्दै जमिन खनेको थियो । यी तीन वटै खेल मैदानमा करिब डेढ करोड रुपियाँ खर्च गरिएको थियो तर अहिले भूक्षयीकरण हुँदा खण्डहरमा परिणत भएको खेलकुद विकास समितिका अध्यक्ष थापाले बताउनुभयो ।

यस्तै वडा नं. २ र ३ मा पनि केही रकम खर्च गरेर अमरगढी नगरपालिकाले जमिन खनेको थियो तर निर्माण सम्पन्न हुन सकेको छैन ।   

clock शनिबार १०, कार्तिक २०८१ ०७:४३

प्रतिक्रिया