डडेल्धुराको सदरमुकामका सडक स्तरोन्नतिका लागि सरकारले पठायो थप ३० करोड

  सोमबार ०१, जेठ २०८० ११:५९

डडेल्धुरा । डडेल्धुराको सदरमुकामका सडक स्तरोन्नति गर्नका लागि सरकारले थप ३० करोड पठाएको छ । सदरमुकामको सडक स्तरोन्नतिको काम अगाडि बढाउन मुआब्जाका लागि सरकारले थप ३० करोड पठाएको हो ।

यसअघि सडक क्षेत्रमा पर्ने जग्गा र घरको मुआब्जाकै लागि २० करोड बजेट पठाइएकोमा सोही प्रयोजनका लागि थप ३० करोड बजेट पठाइएको हो । महाकाली राजमार्गको बागबजारदेखि उग्रतारा सडक खण्डको मुआब्जा र क्षतिपूर्तिका लागि ३० करोड बजेट सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई पठाइएको पत्र आइसकेको छ ।

अर्थ मन्त्रालयले महालेखा परीक्षकको कार्यालयलाई पत्र लेख्दै रकमान्तर स्वीकृत गरेपछि सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई ३० करोड प्राप्त भएको कार्यालय प्रमुख दीपक झाले जानकारी दिए । उनका अनुसार अब प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिको बैठक बसेर प्रक्रिया अगाडि बढाइने छ ।

मुआब्जाका लागि ८४ करोड बजेट आवश्यक रहेकोमा अहिलेसम्म दुई किस्तामा ५० करोड बजेट आएको छ। पहिलो किस्तामा आएको २० करोड मुआब्जा रकम वितरणको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ।

clock सोमबार ०१, जेठ २०८० ११:५९

प्रतिक्रिया