टीकापुर क्षेत्रबाट लागुऔषध सम्बन्धी घटनामा ३ महिनामा ३३ जना पक्राउ

  आइतबार ३१, बैशाख २०८० १४:१६

धनगढी । कैलालीको टीकापुरमा तीन महिनाको अवधिमा लागुऔषध सम्बन्धी घटनामा ३३ जना पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले तीन महिनाको अवधिमा लागुऔषध सम्बन्धी २३ वटा घटनामा अनुसन्धानका लागि ३३ जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ५१ ग्राम ७०० मिलिग्राम खैरो हिरोइन, २६ ग्राम ६०० मिलिग्राम चरेस र १२० ग्राम गाजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा १८ देखि २५ वर्ष उमेर समूहका धेरै रहेका छन् ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० उद्धबसिंह भाटले लागुऔषधको काराबोर तथा ओसारपसार नियन्त्रण गर्ने अभियान अन्तरगत टीकापुर क्षेत्रमा विशेष अप्रेशन चलाइरहेको बताए । सोही अप्रेशन अन्तर्गत विभिन्न उमेर समूहका ३३ जनालाई पक्राउ गरेर कानूनअनुसार मुद्दा चलाइएको भाटले बताए ।

इलाका प्रहरी कार्यालयले चोरी तस्करी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, जुवातास तथा गुण्डागर्दी नियन्त्रण अन्तर्गत पनि काम भइरहेको जनाएको छ । गत वर्षको फागुनदेखि अहिलेसम्म टीकापुर क्षेत्रमा गुण्डागर्दी गर्ने ७३५ जनालाई नियन्त्रणमा लिएर १९ जनालाई सार्वजनिक हितविरुद्धको मुद्धा चलाइएको छ भने अन्यलाई सम्झाइबुझाई गरेर छाडिएको डीएसपी भाटले जानकारी दिए ।

टीकापुरसँग जोडिएका भारतीय सीमावर्ती क्षेत्रबाट भन्सार छलेर अवैध रुपमा भित्र्याइएको छ लाख चार हजार रुपैयाँ बराबरको समान बरामद गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

जुवातास खेल्ने र खेलाउन संलग्न २० जनालाई पक्राउ गरेर मुद्दा चलाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको साथबाट एक लाख ६३ हजार रुपैयाँ समेत बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालयले सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा ठगी सम्बन्धीमा मुद्दाका ८ जना, चोरी सम्बन्धी मुद्दामा ७ जना, सवारी ज्यान सम्बन्धी ३ जना, मुद्रा सम्बन्धी मुद्दाका २ जनालाई समेत पक्राउ गरेर कारवाहीको दायरामा ल्याइएको उल्लेख छ ।

clock आइतबार ३१, बैशाख २०८० १४:१६

प्रतिक्रिया