झ्याप्ले खोलामा अस्तायो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

  सोमबार १४, असोज २०८१ १६:४८

बझाङ । जयपृथ्वी नगरपालिका –१ चिउरीका नवीन सिंह बिहीबार मात्रै चितवन गएका थिए । रामपुर कृषि क्याम्पसमा कृषि विज्ञानमा स्नातक पढिरहेका उनको सपना कृषि विज्ञ बन्ने थियो । अन्तिम वर्षको पढाइ सकेपछि डोल्पा जिल्लामा ओजेटी गरेका नवीन त्यही रिपोर्ट बुझाउन क्याम्पस गएका थिए । 

ओजेटीको रिपोर्ट बुझाएपछि काठमाडौंमा रहेका आमा र बहिनीसँगै बझाङ फर्किने सल्लाह थियो । त्यही भएर उनी शुक्रबार नै हतारमा काठमाडौं फर्किँदै थिए । उनै चढेको बस धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरियो । नवीन कहिले नर्फकने गरि अस्ताए ।

‘डकुमेन्ट बुझाई सकेँ । भोलि धेरै पानी पर्ने कुरा छ । म काठमाडौं हिँडेँ हैं भनेर शुक्रबार साँझ बुबालाई फोन गरेका थिए,' नवीनका आफन्त सुन्दर सिंहले भने, ‘त्यसपछि सम्पर्कविहीन भएको हो । आइतबार साँझ त उ चढेको गाडी पनि पहिरोमा पुरिएको रहेछ भन्ने थाहा पायौं ।'

पढाइमा जेहेन्दार नवीन पूर्ण छात्रवृत्तिमा रामपुर क्याम्पसमा पढिरहेका थिए । मिलनसार र मिजासिलो व्यवहारले गाउँमा पनि सबैको प्यारो नवीनको मृत्युको खबरले वडा नै शोकमग्न भएको छ । नवीनको निधनको खबरले उनका साथीभाई र उनलाई पढाउने शिक्षकहरू पनि भावविह्वल भएका छन्।

बीएस्सीको अध्ययन सकिएकोले दुई वर्ष विदेश गएर पढ्ने र भविष्यमा कृषि विज्ञ बन्ने सपना बुनेका नवीनको मृत्युले परिवारमा मात्रै नभएर सिंगै गाउँलाई क्षति पुगेको कैलाशपति आधारभूत विद्यालयका शिक्षक गोपाल विष्टले बताए । ‘त्यतिको ट्यालेन्ट र व्यवहारिक मान्छे गुमाउनु पर्दा सबै दुःखी भएका छौं,ु उनले भने ।

२५ वर्षीय नवीनको शव बुझ्नका लागि उनका बुवा नरेन्द्र सिंहलगायत आफन्तहरु काठमाडौं पुगिसकेका छन् । उनको दाहसंस्कार सोमबार पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ ।

clock सोमबार १४, असोज २०८१ १६:४८

प्रतिक्रिया