‘हरित धनगढी’ अभियान अन्तर्गत ११ हजार बढी बिरुवा रोपिए, छैन नागरिक समाजको सहभागिता

  सोमबार १४, असोज २०८१ १६:२९

धनगढी ।  ‘हरित धनगढी’ अभियानमा २०७९ सालको फागुन यता मात्रै उपमहानगरपालिकालाई एक करोड ६६ लाख भन्दा बढी रकम सहयोग भएको छ । उपमहानगरपालिकाले उक्त रकमबाट ११ हजार ३ सय विरुवा रोपिसकेको उपमहानगरपालिको जिन्सी शाखा प्रमुख कृष्णराज जोशीले बताए । उपमहानगरपालिकाले हालै मात्र धनगढी–५ स्थित निसर्ग अस्पतालदेखि दाहाल चोकसम्म ट्री–गार्डसहित वृक्षारोपण गरेको छ । सो सडक किनारको पैदल मार्गमा ५० वटा विरुवा ट्री–गार्डसहित वृक्षारोपण गरेर सँगसँगै संरक्षण गर्ने काम समेत भइरहेको उपमहानगरले जनाएको छ ।

धनगढी उपमहानगरलाई पर्यावरणमैत्री बनाउन प्लाष्टिक बेचबिखन बन्द गरिएको छ ।उपमहानगरपालिकाले बृक्षारोपणका लागि बृक्षारोपण नभई रोपिएका बिरुवाको सुरक्षाका लागि ट्री–गार्ड, तारजाली लगाउने र आवश्यकता अनुसार मल तथा सिँचाइको पनि ब्यवस्था गरी नियमित हेरचाह गर्नेगरेको जनाएको छ । उपमहानगरपालिकाले हालसम्म धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक, वनदेवी मन्दिर क्षेत्र, हुलाकी राजमार्ग, धनगढी विमास्थल सडक, चक्रपथ सडक, क्याम्पसरोड र मोहना आर्यघाट क्षेत्रमा ट्री–गार्डसहित वृक्षारोपण गरिसकेको जनाएको छ ।

धनगढी उपमहानगरपालिकाले २०७९ सालको फागुनबाट उपमहानगर क्षेत्रमा ट्रीगार्ड सहित बृक्षारोपण कार्यक्रम सुरु गरेको थियो । उक्त हरियाली धनगढी अभियानमा जावलाखेल डिस्ट्रीलरी र सूर्य नेपालले ५०÷५० लाख सहयोग गरेको थियो । उक्त अभियानमा नवजीवन कोअपरेटिव लिमिटेडले १० लाख रकम सहयोग गरेको थियो । धनगढीलाई वातावरणमैत्री बनाउने उक्त अभियानमा धनगढीभीत्र र बाहिरका गरी २८० जनाको सहभागिता छ । ट्रीगार्ड सहितको प्रत्येक विरुवामा आफ्नो ब्यापार प्रवर्धन गर्न सकिने, आफन्तको सम्झनामा सन्देश लेख्न सकिने र हरेक विरुवा बराबर ५ हजार तिर्नुपर्ने प्रावधान रहेको छ ।

छैन नागरिक समाजको सहभागिता
धनगढीको विरेन्द्र–ऐश्वर्य उद्यान निर्माण रोक्न लागि परेको नागरिक समाज नामक समुहको ‘हरित धनगढी’ अभियानमा कुनै सहभागिता देखिएको छैन । वातावरणको चिन्ता जनाउदै २०८१ सालको असार १७ गते झण्डै पौने ९ करोडमा ठेक्का सम्झौता भईसकेको विरेन्द्र–ऐश्वर्य उद्यान (धनगढी पार्क) निर्माण रोक्ने मागगर्ने नागरिक समाज भनिएको समूहले ज्ञापन बुझाएको थियो । पार्क निर्माण रोक्नुपर्छ भनेर ज्ञापन बुुझाउने मध्येका कसैको पनि हरित धनगढी अभियानमा सहभागिता देखिदैन । शुक्रबार धनगढीको नागरिक समाज भन्दै प्रेमराज भण्डारी सहितका ३९ जनाले धनगढीको पार्क निर्माण रोक्नुपर्ने मागगर्दै मेयर गोपाल हमाललाई ज्ञापन बुझाएका थिए ।

अध्यक्ष वा संयोजक नै नतोएिको नागरिक समाजको नाममा ३९ जनाले हस्ताक्षर गरेर धनगढी पार्कमा बन्ने संरचनाले वातावरणीय, बानस्पतिक र जैविक पक्षलाई नकारात्मक असर पार्ने भन्दै २०ं८१ को असारमै ठेक्का सम्भौता भईसकेको निर्माण कार्य रोक्न ज्ञापन बुुझाएका थिए । नेशनल÷पवन जेभीसँग २०८१ असार १७ गते निर्माणका लागि सम्झौता भएको हो भने उसलाई २०८३ को बैशाख १६ गतेसम्म वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणको काम सक्नेगरी सम्झौता भएको छ ।

धनगढीको मुख्य बजारमा रहेको उद्यान निर्माण गर्न धनगढी उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारेको थियो । उपमहानगरपालिकाले रात्रिकालीन बजारसहितको उद्यान निर्माणका लागि डिपीआर तयार पारेको हो । धनगढी उपमहानगरपालिकासँगै जोडिएको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण कार्यको असोज १ गते उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिहले सिलान्यास पनि गरिसकेका छन ।

उद्यानको पुरै संरचना निर्माणका लागि उपमहानगरले ३६ करोडको डिपिआर तयार पारेको छ । उद्यान निर्माणको ठेक्का पाएको कम्पनीले त्यसभीत्र निर्माण सामाग्री राखिसकेको छ भने उसले निर्माणका पिलरहरु बाँध्ने काम पनि सुरु गरिसकेको छ ।

clock सोमबार १४, असोज २०८१ १६:२९

प्रतिक्रिया