कैलालीका सामुदायिक वनमा देखिन थाले बाघ

  शुक्रबार २९, बैशाख २०८० १२:३३

 

धनगढी । कैलाली जिल्लास्थित सामुदायिक वनमा पाटे बाघ देखिन थालेका छन् । जिल्लाको धनगढी, भजनी, हसुलियालगायत क्षेत्र आसपासका सामुदायिक वनमा बाघ देखिन थालेका हुन् ।

यसैबीच केही दिनयता भजनी क्षेत्रमा रेडियो कलर जडान भएको पाटे बाघ देखा परिरहेको छ । भजनी नगरपालिका–५ स्थित कालिका सामुदायिक वनसहित आसपासका क्षेत्रमा पाटे बाघ देखा परिरहेको हो ।

मानव बस्ती क्षेत्र नजिक बाघ आएपछि सुरक्षा सतर्कता बढाइनुका साथै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरिएको छ । डिभिजन वन कार्यालयले बाघको निगरानी गर्ने कार्य पनि गरिरहेको छ ।

विगत १५र२० दिनयता सो क्षेत्रमा बाघको ओहोरदोहोर भइरहेकाले कुनै किसिमको मानवीय क्षति हुन नदिनका लागि सतर्क पारिएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए ।

उनले भने, ‘हामीले बाघको निगरानी पनि गरिरहेका छौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा तीन वटा स्वचालित क्यामेरा राखेर बाघको निगरानी गर्ने कार्य भइरहेको छ ।’

बाघ देखा परिरहेको क्षेत्रमा तीनतिर मानव बस्ती छ । अहिले खेतमा रहेको उखु काटिएपछि त्यो बाघ भजनी नगरपालिका–५ स्थित नेपाल–भारत सीमा क्षेत्र नजिक रहेको कालिका सामुदायिक वनमा बस्न थालेको जनाइएको छ । गुलरियाघाटको सशस्त्र प्रहरीको बेस क्याम्प नजिक माछा पोखरी किनारमा सुतेको अवस्थामा बाघ देखिएको थियो । यसैगरी, ‘क्यामेरा ट्रयाप’ गर्दा त्यसमा पनि बाघ परेको छ ।

फोटोमा देखिएको रेडियो कलर जडित बाघ सम्भवतः पोथी रहेको प्रमुख रिजालले बताए । उनका अनुसार बाघ बस्ती नजिक आए पनि सम्भवतः नरभक्षी होइन । तर, सावधान रहन आवश्यक छ । बाघले सामुदायिक वनमा एउटा निल गाई र गाई मारेर खाएको जनाइएको छ । त्यसको गर्दनमा रेडियो कलर देखिएकाले डार्ट गरेर (लट्ठयाएर) फेरि छोडिएको बाघ हो । बाघ बूढो, बिरामी भएर सिकार गर्न नसकेपछि वा आफ्नो क्षेत्रबाट लखेटिएपछि मानव बस्ती क्षेत्रतिर आउने गरेको बताइन्छ ।

बसन्ता करिडोरको भजनी क्षेत्रमा विगतमासमेत बाघ आए पनि तिनको फोटो भने सङ्कलन हुन सकेको थिएन । गत, पुस–माघमासमेत बसन्ता, रामपुर, हसुलिया क्षेत्रमा रेडियो कलर जडित बाघ देखा परेको थियो । बाघहरू डमरु हुर्काउनका लागि बसन्तासहित भजनी क्षेत्रमा आउने गरे पनि पहिलो पटक क्यामेरा ट्रयापमा पारिएको सामुदायिक वन समन्वय समिति भजनीका भूतपूर्व अध्यक्ष एवम् संरक्षणकर्मी विजयराज श्रेष्ठ बताउँछन् ।

‘संरक्षण क्षेत्रबाहिर बाघ आउँछन् भन्ने कुरा वैज्ञानिक रूपमा पुष्टि भएको छ’, उनले भने,‘बसन्ता कोरिडोरमा प्रायः बाघको ओहोरदोहोर भइरहन्छ ।’ बाघको ‘मुभमेन्ट’ बस्तीको अलि नजिक भइरहेकाले सबैलाई सावधान रहन वन कार्यालयले आग्रह गरेको छ । उद्धार गरेर बाघ राख्नका लागि नेपालमा अब खाली ठाउँ छैन । त्यसैले जहाँबाट आएको हो, त्यहिँ नै फर्कन दिने रिजालले बताए ।

clock शुक्रबार २९, बैशाख २०८० १२:३३

प्रतिक्रिया