सर्भर डाउन हुँदा डडेल्धुरा विद्युतको महसुल बुझ्ने काम अवरुद्ध

  बिहिबार ०६, भदौ २०८१ ०८:५६

डडेलधुरा । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको महसुल बुझ्ने अनलाइन (सेन्ट्रल सर्भर) सिस्टम बिग्रँदा महसुल बुझ्ने काम स्थगित गरिएको छ । करिब ९४ प्रतिशत विद्युतीकरण भएको यस जिल्लाका ग्राहकले नियमित शुल्क तिर्ने गरेका छन् ।

आइतबारदेखि महसुल बुझ्ने काम स्थगित गरिएको कार्यालय प्रमुख रमेश अवस्थीले बताउनुभयो । उहाँका अनुसार डाउन भएको सर्भर बनाउन काठमाडौँ पठाइएको छ । महसुल बुझ्न अनलाइन सर्भरका लागि सिपियु उपकरण आवश्यक हुन्छ । 

सो उपकरण मर्मत गर्न काठमाडौँ पठाइएको जानकारी अवस्थीले दिनुभयो । आइतबारदेखि पुनः सेवा सञ्चालन हुने अपेक्षा गरिएको छ । सर्भर बिग्रँदाको समयमा महसुल बुझाउन हुने ढिलाइका कारण ग्राहकलाई जरिबाना नगरिने उहाँले बताउनुभयो ।

डडेलधुरामा १६ हजार पाँच सय ग्राहक रहेका छन् । करिब आठ हजार ग्राहक भित्री मधेश क्षेत्र जोगबुडाको परशुराम नगरपालिका र आलीताल गाउँमा रहेका छन् । प्राधिकरण केन्द्रको तथ्याङ्क अनुसार डडेलधुरामा ९४.०८ प्रतिशत घरधुरीमा विद्युतीकरण भएको छ ।

परशुराम नगरपालिका–१, २ र ११, आलीताल गाउँपालिका–१ का केही बस्ती र भागेश्वर गाउँपालिका–१ मा विद्युतीकरण हुन बाँकी छ । करिब एक करोड रुपियाँ बक्यौता रकम असुल गर्न बाँकी छ ।

सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामध्ये कञ्चनपुर र कैलालीमा शतप्रतिशत विद्युतीकरण भएको छ । बाजुरामा सबैभन्दा कम ३३.५१ प्रतिशत, डोटीमा ८८.०४ प्रतिशत, अछाममा ६५.९७, बैतडीमा ६१.७३, बझाङमा ६९.०३ र दार्चुलामा ८४.०१ प्रतिशत विद्युतीकरण भएको छ ।   

clock बिहिबार ०६, भदौ २०८१ ०८:५६

प्रतिक्रिया