भारतसँग ८२ रनले पराजित हुँदै एशिया कपबाट बाहिरियो नेपाल

  बुधबार ०९, साउन २०८१ ०६:३२

काठमाडौँ । एसीसी महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

श्रीलङ्काको दाम्बुलामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गए राति भएको खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको हो । यो जितसँगै भारत प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ भने हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा हार तथा एक खेलमा जीत हासिल गरेको थियो । नेपालले यूएईलाई ६ विकेटले हराउँदा पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो ।

भारतले नेपाललाई जितका लागि १७९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रनमा समेटियो ।

नेपालका लागि सीता रानामगरले सर्वाधिक १८ रनको योगदान दिइन् । त्यस्तै विन्दु रावलले १७ रन जोड्दा रुविना क्षेत्रीले १५ तथा कप्तान इन्दु वर्माले १४ रन जोडिन् । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

भारतका लागि दिप्ती शर्माले ३ विकेट लिइन् भने अरुण्नधति रेडि र राधा यादवले समान दुई दुई विकेट लिए । यस्तै रेनुका सिंहले एक विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रनको योगफल बनाएको थियो । भारतका लागि ओपनर शफाली वर्माले सर्वाधिक ८१ रनको योगदान दिइन् । उनले ४८ बलमा १२ चौका र १ छक्कासहित ८१ रन बनाएकी हुन् ।

त्यस्तै अर्की ओपनर दयालन हेमालथाले ४२ बलमा ५ चौका र १ छक्कासहित ४७ रन जोडिन् । जेमिमाह रोड्रिगेजले २८ रन बनाउँदा सजीवन सजनाले १० तथा ऋचा घोषले ६ रन जोडिन् ।

clock बुधबार ०९, साउन २०८१ ०६:३२

प्रतिक्रिया