कैलालीमा युवालाई लागुऔषधबाट जोगाउन फुटबल प्रशिक्षण

  आइतबार ०६, साउन २०८१ २०:१८     रासस

धनगढी । कैलालीमा युवालाई लागुऔषधबाट जोगाउन फुटबल प्रशिक्षण गरिन थालिएको छ। राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडीसमेत रहेका कैलालीको टीकापुरका गजेन्द्र शाही युवालाई लागुऔषधबाट जोगाउन फुटबल प्रशिक्षण  दिन थालेका  छन्। 

उनले भने ‘हामीमा सबैभन्दा पहिले चाहिने भनेको आत्मविश्वास र अनुशासन हो, जुन कुरा खेल क्षेत्रमा राम्रोसँग सिक्न पाइन्छ’, उनले भने, ‘आत्मविश्वास र अनुशासन भएको व्यक्ति खेलकुद क्षेत्रमा मात्रै नभई हरेक क्षेत्रमा सफल हुनसक्छ।’

सक्रिय खेल जीवनबाट बिदा लिइसकेका गजेन्द्र यतिबेला स्थानीय क्षेत्रमा खेलाडी उत्पादनको काममा लागेका छन्। फोर्टिन जिआर एकेडेमीमार्फत एक सय ५० बालबालिकालाई उनले फुटबलको प्रशिक्षण गराउँदै आएका छन्।

उनको उद्देश्य समाज लागुऔषधका कारण आक्रान्त बन्दै दिनप्रतिदिन युवाहरू कुलतमा फस्दै गएको अवस्थामा खेलकुदका माध्यमबाट त्यस्ता कुलतमा लागेका र जोखिममा रहेका युवालाई बाहिर ल्याउने रहेको छ।

खासगरी युवा तथा वयस्कहरु लागुऔषध दुर्व्यसनीमा फस्दै गएका बेला उनीहरुलाई त्यो गलत बाटो बिर्सेर नयाँ जीवनको सुरुआत गर्ने क्षेत्र खेलकुद बन्न सक्ने सुदूरपश्चिम नीति तथा योजना आयोगका सदस्य प्राध्यापक डाक्टर जगतबहादुर रावलले बताए।

‘खेल क्षेत्र अनुशासनको एउटा महत्वपूर्ण पाठशाला हो, जहाँ सम्भावनासँगै असल व्यक्तित्व निर्माण गर्न सकिन्छ’, उनले भने, ‘अर्कोतिर लागुऔषध दुव्र्यसनीबाट बच्नका लागि खेलकुद क्षेत्र समाजकै उपलब्धिको स्रोत बन्न सक्छ।’ टीकापुर क्षेत्रमा खेलाडी उत्पादनका लागि गरिएको प्रयासले निकट भविश्यमा थुप्रै सम्भावना बोकेका खेलाडी राष्ट्रले पाउने विश्वास गरिएको छ। रासस

 

clock आइतबार ०६, साउन २०८१ २०:१८     रासस

प्रतिक्रिया