जलाधार संरक्षणमा जुट्यो आदर्श गाउँपालिका

  सोमबार २५, बैशाख २०८० १६:१६

डोटी । पानीको स्रोतहरू सुक्न थालेपछि आदर्श गाउँपालिकाले जलाधार तथा पर्यावरण संरक्षण अभियान सुरुआत गरेको छ । पालिकाको ७ वटै वडामा खानेपानीको हाहाकार छ । बस्तीनजिक रहेका पानीका स्रोतहरू सुक्दै जान थालेपछि तीव्र बसाइँसराइँ तथा खाद्यान्न संकट देखिन थालेका छन् । 

गाउँपालिकाको तथ्यांकअनुसार ५ हजार २ सय ३८ घरधुरीमध्ये ४ हजार २ सय ९४ घरधुरीमा खानेपानीका धारा जडान गरिएका छन् । तर, त्यसमध्ये ५० प्रतिशत खानेपानीका धारामा पानी आउन छाडिसकेको गाउँपालिका अध्यक्ष गणेशबहादुर खड्काले बताए ।

‘निर्वाचनमा खानेपानी, शिक्षा र स्वास्थ्यलाई मुख्य एजेन्डा बनाएर जनताकहाँ गएको थिए,’ गाउँपालिका अध्यक्ष खड्काले भने, ‘बस्तीनजिक पानीका स्रोत नै सुकिसकेपछि हाहाकार भइरहेको छ, अब जलाधार संरक्षण अभियानमा नलागी भएन ।’

गाउँपालिका अध्यक्ष खड्काले अभियानअर्न्तगत सुकिसकेका पानीका स्रोतहरुलाइ पुरानै अवस्थामा फर्काउन पालिकाले रणनैतिक योजना तयार गरिरहेको बताए । जसकालागि पालिकाले अमेरिकाको यूनिभर्सिटी अफ एरीजोनाको भूविज्ञान विभागका प्राध्यापक तथा भूगर्भविद् टंक ओझासॅंग परामर्श गरिरहेको छ ।

आदर्श गाउँपालिकामै जन्मभूमि रहेका भगर्भविद् ओझाले सुकिसकेका पानीका स्रोतहरूलाई जलाधार तथा पर्यावरण संरक्षणबाट पुनः पुरानै अवस्थामा फर्काउन सकिने दाबी गरेका छन् । त्यसका लागि पालिकाको भूगर्भबारे गरिएको अध्ययनका आधारमा उनले विभिन्न ६ स्थानमा जलाधार संरक्षित क्षेत्र तोकिनुपर्ने सुझाव दिएका छन् ।

पालिकाले जलाधार संरक्षण तथा पर्यावरणसम्बधी आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भूगर्भविद् ओझाले गाउँपालिकालाई ती संरक्षित क्षेत्रमा आकासे पानीलाई सञ्चित गर्न ३ लाइनमा ड्रिल गर्नुपर्ने योजना अघि सारेका छन् ।

‘आकासे पानीलाई त्यही अल्मलाएर माटोको भित्री सतहमा छिराउँदा सुकेका मूल केही वर्षमै फर्कने अवस्था छ,’ ओझाले दाबी गर्दै भने, ‘हामीले विभिन्न देशहरूमा गरेको परीक्षणबाट यो पुष्टि गरिसकेका छौं,’ आदर्श गाउँपालिकालाई तत्कालै यो योजना कार्यान्वयनमा ल्याउन जरुरी छ ।’ कान्तिपुरबाट

clock सोमबार २५, बैशाख २०८० १६:१६

प्रतिक्रिया