त्रिशूलीमा बेपत्ता दुई बसको खोजी जारी, वाटर ड्रोनदेखि सोनार क्यामेरासम्मको प्रयोग

  शनिबार २९, असार २०८१ १०:१८

काठमाडौं । चितवनको सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्यमा विभिन्न प्रविधि अपनाइएको छ ।

दोस्रो दिनको खोजी कार्य आज (शनिवार) बिहानैदेखि जारी रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले लोकान्तरलाई जानकारी दिए ।
 
खोजी कार्यमा पानीभित्र प्रयोग गरी खोज्न सकिने वाटर ड्रोन, सोनार क्यामेरा, पाइपलाइन इन्सपेक्सन सिस्टम आदि प्रविधि प्रयोग गरिएको उनले बताए । 

खोजी कार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना गरी तीनवटै सुरक्षा संयन्त्र प्रयोग गरिएको उनको भनाइ छ ।

‘खोजी कार्यका लागि चाहिने अधिकतम प्रविधि प्रयोग गरेका छौँ । तीनवटै सुरक्षा संयन्त्रसँगै तालिमप्राप्त गोताखोर खटिरहेका छन्,’ उनले भने ।

र्‍याफ्टबोटमा जडान गरेर पानीभित्रका बस्तुहरू हेर्न सोनार क्यामेराले सहयोग पुर्याउने सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी शुक्रवारका लागि स्थगित भएको थियो । त्रिशूलीमा खसेका दुई बस बिहानैदेखि खोजिए पनि साँझसम्म नभेटिएकाले स्थगित गरिएको थियो ।

बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको थियो ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो । 

दुई बसमा सवार ४८ यात्रु हराइरहेका छन् ।  

clock शनिबार २९, असार २०८१ १०:१८

प्रतिक्रिया