तलब नपाएपछि जानकी गाउँपालिकाका स्वास्थ्यकर्मी धर्नामा

  शनिबार २२, असार २०८१ ०८:१८

टीकापुर । नौ महिनादेखि तलब नपाएपछि कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले स्वास्थ्य संस्था छाडेर पालिका केन्द्रमा धर्ना सुरु गरेका छन् । सङ्घीय सरकारले पालिकामा कार्यरत स्थायी कर्मचारीलाई पुग्दो तलब नपठाएपछि कर्मचारीले तलब नपाएका हुन् । 

स्वास्थ्यकर्मी पदमसिंह परियारले भने, “स्थानीय स्वास्थ्य संस्थामा सेवा दिइरहेका जानकी गाउँपालिकामा १० वटा स्वास्थ्य संस्थामा कार्यरत ४७ कर्मचारीले आर्थिक वर्ष पूरा हुन लाग्दासमेत नौ महिनाको तलब नपाएपछि धर्ना बस्नुको विकल्प नभएर यहाँ आएका हौँ ।”

उहाँका अनुसार सरोकारवाला निकायको ध्यानाकर्षण होस् भनेर अत्यावश्यक सेवाबाहेक स्वास्थ्य संस्थाले प्रवाह गर्ने अन्य सेवा बन्द गरी धर्ना दिने कार्यक्रम भइरहेको छ । जानकी गाउँपालिकामा सबै कर्मचारीलाई तलब पु¥याउन तीन करोड ४२ लाख रुपियाँ आवश्यक पर्नेमा एक करोड १४ लाख रुपियाँ मात्रै आएको गाउँपालिकाको कार्यालयले जनाएको छ । 

लामो समय तलब नपाएपछि कर्मचारीलाई घरखर्च चलाउन पनि ऋण लिनु परेको छ । सिनियर अनमी ज्योति बडूले भने, “घर छाडेर डेरामा बसी सेवा गर्नुपर्दा घरखर्च चलाउन र खान सञ्चय कोषबाट ऋण लिई चलाइरहेका छौँ । असारमा किस्ता तिर्न नसके चक्रवर्ती ब्याज लाग्ने पीरमा आफू रहेको उनले बताए ।

समायोजन हुँदा दरबन्दीभन्दा बढी भएर तलब नपुगेको र आफू आएलगत्तै विवरणसहित मन्त्रालयमा पठाए पनि हालसम्म स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई रकम माग गरेको तर अर्थबाट स्वीकृत भइनसकेको जानकारी पाएको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले बताए । समायोजन हुँदा दरबन्दीभन्दा बढी भएका अरू गाउँपालिकामा पनि यस्तै खालको समस्या छ । 

गोदावरी नगरपालिकाका जनस्वास्थ्य अधिकृत नवराज अवस्थी स्वास्थ्य कर्मचारीले आठ महिनाको तलब नपाएको र सरकारी खाता बन्द हुने दिन असार २४ भित्र तलब आउँछ कि भन्ने आशामा रहेको बताए । यस्तै अस्नेहरी सहरी स्वास्थ्य केन्द्र टीकापुरका इन्चार्ज शकुन्तला कार्कीले आएको रकमबाट तलब बाँडीचुडी गर्दा नौ महिना पुगेको र तीन महिनायता तलब नपुगेकाले सरकारले विगतमा झैँ पठाउला भन्ने आशामा रहेको बताए । 

पालिकाले हरेक वडामा स्वास्थ्य एकाइ पु¥याउने सरकारी लक्ष्य अनुसार कर्मचारी समायोजन भएर आए तर सङ्घीय सरकारले स्वीकृत दरबन्दी अनुसारको तलब पठाएको छैन । पठाएको तलब सबैले बाँडेर खान नपुगेको र तलब पाउन हरेक वर्ष असारमा हारगुहार गर्नु परिरहेको स्वास्थ्यकर्मी बताउँछन् ।    

clock शनिबार २२, असार २०८१ ०८:१८

प्रतिक्रिया