बझाङमा दुई दशकदेखिको बाँझो जमिनमा आलु खेती

  शनिबार २३, बैशाख २०८० १५:१९
फाईलफाटो

बझाङ । बझाङमा दुई दशकदेखि बाँझो रहेको जमिनमा कृषकहरूले आलु खेती गर्न थालेका छन् । जिल्लामा संचालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलुजोनले आलुको बीउ उपलब्ध गराएपछि कृषकहरु आलु खेतीमा आकर्षित भएका हुन् ।

आलुको बीउसँगै कृषकलाई घेरबार उपलब्ध गराएपछि दुई दशकदेखि बाँझो रहेको जमिनमा आलुखेती सुरु गरिएको छ । गहुँ, जौ र फापर लगाउने गरिए पनि पर्याप्त उत्पादन नभएपछि कृषकहरु आलुखेती तर्फ लागेका हुन् ।

राम्रो उब्जनी हुने खेतबारी बाझो हुन थालेपछि कृषकहरुले बजारको सर्वेक्षण गरेपछि आलुखेती गर्न थालेका हुन् । आलु जोनले यहाँका कृषकहरुलाई जम्मा गराएर बाँझो जमिनमा आलु उत्पादन गर्नका लागि भन्दै बीउ वितरण गरेपछि उनीहरुले सामूहिक रुपमा आलुखेती गर्न थालेका हुन् ।

बाँझो जमिनमा आलु लगाएपछि अहिले हरियाली हुन थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत यहाँका आधा भन्दा बढी जग्गामा आलुखेती गरिएको छ । आलुको बजारीकरणको पनि ब्यवस्था गरिदिएपछि यहाँका कृषक खुशी भएका छन् ।

आलु बिक्री गरेर आम्दानी समेत गर्न सकिने भएका कारण कृषकहरुका लागि राम्रो र फलदायी रहेकोे परियोजना कार्यन्वयन इकाईका सव इन्जिनियर दिपेन्द्रबहादुर सिंहले बताउनुभयो । आलु भण्डारण गर्नका लागि वडा नम्बर १ मा रष्टिक स्टोर समेत निर्माण गरीएको छ ।

यही वर्ष वडा नम्बर १ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको १२ लाख र भूमिदेव कृषक समूहको १ लाख ८० हजार रुपैयाँको लागतमा अर्को नयाँ रष्टिक स्टोर निर्माण गरी संचालनमा ल्याइएको छ । यो स्टोरबाट ४० परिवार लाभान्वित हुने आलुजोन कार्यालयले जनाएको छ ।

clock शनिबार २३, बैशाख २०८० १५:१९

प्रतिक्रिया