खानेपानीको सतह घट्दै गएपछि कोकाकुल हुँदै धनगढी

  मङ्गलबार ०४, असार २०८१ १४:११

अत्तरिया । कैलालीको धनगढीमा खानेपानीको सतह दुई मिटरसम्म घटेपछि खाने पानीको समस्याले विकराल रुप लिएको छ । लामो समयको खडेरीका कारण जमिनमुनी पानीको सतह सुक्दै गएपछि धनगढीका २३ हजार २४९ परिवार प्रभावित भएका छन् ।

नेपाल खानेपानी संस्थानका ग्राहकको सङ्ख्या नौ हजार एक सय मात्र रहेको छ । अन्य सबै परिवार नल्काको पानीमै आश्रीत रहेका छन् । हाल खानेपानी संस्थानले दैनिक १४ लाख लिटर पानी वितरण गर्दै आएको भए पनी दैनिक १७ लाख लिटर पानीको थप माग भइरहेको छ ।

गर्मी मौसम सुरु भएसँगै खानेपानीको माग बढेको छ  । उपभोक्ताहरुको नल्कासमेत सुकेपछि खानेपानीको माग बढेको  खानेपानी संस्थान, धनगढीका प्रमुख शैलेन्द्र शाहले बताउनुभयो । गर्मीसँगै नल्काको पानी सुकेपछि उपभोक्ताहरु संस्थानको पानीमा निर्भर छन् ।

शाहले भन्नुभयो, ‘‘हाम्रो भूमिगत पानीको स्रोत हो । दुई मिटर पानीको सतह घटेको छ । पानी तान्न समस्या छ, बत्ती जाने, सडक र नाली निर्माणले गर्दा आपूर्ति बन्द हुने गरेको छ । खडेरीले हात्तेपम्पहरु सुकेका छन् ।’’

खानेपानी संस्थानले २१ मिटर गहिरो भूमिगत पानी उपभोक्तालाई वितरण गर्दै आएको छ । धनगढीमा आठवटा पानी वितरणका लागि ट्याङ्की निमार्ण गरिएका छन । १२ वटा बोरिङ्ग भूमिगत पानी तान्न गाडिएका छन् ।

खानेपानी संस्थानका बोरिङ्गहरुमा भूमिगत पानी आउने गरेको भए पनि पानीको सतह भने घटेको छ । जसका कारण थप पानीको समस्या सिर्जना भएको हो । शाहले  धनगढीमा चैतदेखि पानीको सतह कम हुँदै गएको बताउनुभयो ।

खानेपानी संस्थानलाई बोरिङ्गको पानी तान्न २६५ देखि २७० वाट विद्युतको भोल्टेज आवश्यक भए पनि  भोल्टेज कम हुँदा र अनियमित विद्युतका कारण पानी आपूर्तिमा समस्या भइरहेको उहाँको भनाइ छ ।

‘‘टोलमा सार्वजनिक खानेपानीका धारा छैन । जमिनको पानी समेत सुके पछि तीन महिनादेखि तराई लगायत धनगढीका बासीन्दाले खानेपानीको चरम समस्या झेल्नु परेको हो । तराईमा अत्याधिक गर्मीसँगै तातो हावा लु चलेको छ । तापक्रम ४३ डिग्रीमाथि छ । 

मनसुनी वायुर भारतको बिहारदेखि आसामसम्म बनेको न्यून चापिय अवस्था र बंगालको खाडीबाट दक्षिण उत्तर आएको वायुको कारण तत्काल एक साता अझै पानी पर्ने सम्भावना नरहेको मौसम विद् धर्मराज उप्रेतीले बताउनुभयो ।
 

clock मङ्गलबार ०४, असार २०८१ १४:११

प्रतिक्रिया