धनगढीमा मर्मत गर्न दिएको गाडी ग्यारेज साहुले बेचेपछि ...
धनगढी । धनगढीको एक ग्यारेजले मर्मत गर्न दिएको गाडी ग्यारेजको साहुले बिक्री गरेको पाइएको छ। सुर्खेतबाट मर्मतका लागि ल्याइएको बा १९ च ७४२१ नम्बरको फचुनर गाडी ग्यारेजबाटै साहुले बिक्री गरेको पाइएको हो।
कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित नेपाल अटो ट्रेडर्समा मर्मतका लागि लगिएको उक्त गाडी संचालकले आफूखुसी बेचेको पाइएपछि जिल्ला प्रहरी कार्यालयमा ठगी सम्बन्धी मुद्दा दायर भएको छ।
सुर्खेतको चौकुने गाउँपालिका –२ खगेश्वर वान्तलाले ट्रेडर्सका सञ्चालक देव कुमारी गतौंला, सञ्चालक कृतन गतौंला, म्यानेजर नविन चौधरी, मिस्त्री मनु अन्सारीमाथि ठगी कसुरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दायर गरेका हुन्।
सुर्खेत प्रहरीले म्यानेजर चौधरी र मिस्त्री अन्सारीलाई पक्राउ गरेको छ। तर, संचालक देवकुमारी गतौंला उनका छोरा कृतन गतौंला भने फरार छन्। प्रहरीले उनीहरुको खोजी कार्य गरिरहेको छ।
‘मैले राम्रो मर्मत हुन्छ भनेर नेपाल अटो ट्रेडर्समा पठाएको थिए’ पीडित खगेश्वर वान्तलाले भने, ‘लिन जाँदा बारम्बार अनेक बाहाना गरेका थिए। मर्मत भइसकेको भनेपछि पैसा पनि खातामा हालिदिए। लिन जाँदा गाडी नभेटिएपछि प्रहरीमा मुद्दा दिएको छु।’
सुर्खेत प्रहरीले मुद्दा आइतबार सरकारी वकिलकोमा पठाउने तयारी गरेको छ। स्रोतका अनुसार मिस्त्रीलाई फसाएर नेपाल अटो ट्रेडर्सका संचालक र मेनेजरलाई बचाउने चलखेल भएको बुझिएको छ। गाडीको हालको मूल्य २ करोड ३१ लाख पर्छ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                        
प्रतिक्रिया