धनगढीमा मन्त्री श्रेष्ठले गरे ‘ग्रासरुट क्रिकेट’को उद्घाटन

  मङ्गलबार २९, जेठ २०८१ २२:३०

धनगढी । कैलालीस्थित धनगढीमा ग्रासरुट क्रिकेटको उद्घाटन गरिएको छ। धनगढी उप–महानगरपालिकाको सहकार्यमा गो ड्रिमर्सद्वारा सञ्चालित ‘धनगढी ग्रासरुट क्रिकेट विकास कार्यक्रम’ को उद्घाटन गरिएको हो। मङ्गलवार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन्।

धनगढी–१८ फूलबारी स्थित चन्द्रोदय माविमा आयोजित उक्त कार्यक्रममा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठ, धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले धनगढी ग्रासरुट क्रिकेट विकास कार्यक्रमको आधिकारिक जर्सी सार्वजनिक गर्दै खेलाडीहरूलाई हस्तान्तरण समेत गरेका छन्।

यो कार्यक्रम पहिलो चरण अन्तर्गत धनगढी उप–महानगरपालिकाका दुई वटा सामुदायिक विद्यालयमा सञ्चालन हुने छ। धनगढी–१८ स्थित चन्द्रोदय मावि फूलबारी र धनगढी– १२ स्थित सिद्धनाथ मावि जुगेडामा २०८० माघदेखी दुई जना प्रशिक्षकले प्रशिक्षण गर्दै आइरहेका छन्। तर, औपचारिक उद्घाटन भने मङ्गलवार गरिएको हो। मन्त्री श्रेष्ठ र नगर प्रमुख हमाल क्रिकेट प्रशिक्षण स्थलमा नै पुगेका थिए।

युवा तथा खेलकुद मन्त्री श्रेष्ठले १५ वर्षपछि खेलाडी उत्पादन गर्नलाई दूर दृष्टि राखेकोमा धनगढी उप–महानगरपालिकाका नगर प्रमुख हमालको प्रशंसा गर्दै मन्त्रालयले गर्नु पर्ने जुनसुकै प्रकारको सहयोग गर्न तयार रहेको बताए। उनले भने, ‘सर्वप्रथम त धनगढीका मेयर साब गोपी हमाल ज्यूलाई एकदमै बधाई। म प्रशंसा गर्न चाहन्छु। १० देखी १५ वर्षपछि उत्पादन हुने खेलाडीको लागी अहिलेबाट सोच्नु ठुलो कुरा हो। सुदूरपश्चिम धनगढी पहिलेदेखी नै देशका लागि खेलाडी उत्पादन गर्दै आइरहेको छ। मन्त्रालयको तर्फबाट प्रशंसा गर्दछु र आवश्यक सम्पूर्ण सहयोग गर्ने छु।

धनगढी उप–महानगरपालिकाका नगर प्रमुख हमालले सरकारी विद्यालयहरूमा शैक्षिक गुणस्तर खस्की रहेकोमा ग्रामीण भेगका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार सँगै अतिरिक्त सिकाइमा पनि अब्बल बनाउन यो कार्यक्रम लागु गरिएको बताए। अहिले दुई विद्यालयमा मात्रै सञ्चालन गरिए पनि आगामी दिनहरूमा अन्य नमुना विद्यालयहरूमा समेत सञ्चालन गर्ने तयारी रहेको उनले बताए। ‘यहाँ ग्रामीण भेगमा वैकल्पिक रोजगारी को कमी छ यहाँका सामुदायिक विद्यालय हरेक तवरले अब्बल बनाएर निःशुल्क शिक्षा, गुणस्तरीय र प्रभावकारी ढङ्गले दिन लागी पर्ने छु । आफ्नो क्षमता देखाउनलाई पैसा बाधक नबनोस् भन्ने कुरामा नगरपालिका सबै सजक रहने छ र यो कार्यक्रम पनि यसै कारण सञ्चालन गरिएको हो,’ हमालले भने ।

त्यस्तै, गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले धनगढीका सामुदायिक विद्यालयहरूमा यो कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गर्नु हुने धनगढी उप–महानगरपालिकाका प्रमुख गोपाल हमाल तथा निमन्त्रणालाई स्वीकार गर्दै खेलाडीहरू लाई हौसला प्रदान गर्न पाल्नु भएका नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री श्रेष्ठ र सचिव अर्याल सहित कार्यक्रम सम्पन्न गर्न सहयोग पु¥याउने तथा उपस्थित सम्पूर्ण क्रिकेट प्रेमी व्यक्तित्वहरू प्रति हार्दिक आभार व्यक्त गर्दै यस कार्यक्रमबाट निकट भविष्यमा नेपाललाई प्रतिनिधित्व गर्ने थुप्रै मेहनती तथा अनुशासित खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गरे । ‘ग्रासरुट क्रिकेट विकासमा देशभरिका स्थानीय निकायहरू ले लगानी गरे निकट भविष्यमा नेपाली क्रिकेटले अभूतपूर्व सफलता हासिल गर्नेमा दुई मत छैन,’ शाहीले भने ।

clock मङ्गलबार २९, जेठ २०८१ २२:३०

प्रतिक्रिया