एसीसी प्रिमियर कप : नेपाल सेमिफाइनलमै रोकियो

  शुक्रबार ०७, बैशाख २०८१ १५:०३

काठमाडौं । साविक विजेता नेपाल एसीसी प्रिमियर कप क्रिकेटबाट बाहिरिएको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा यूएईसँग ६ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले दिएको १२० रनको लक्ष्य यूएईले १७.२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो ।

यूएईका लागि अलिशान शराफुले सर्वाधिक ५५ रन बनाउँदा विष्णु सुकुमारनले २८ रनको योगदान गरे । कप्तान मोहम्मद वसीमले ११ रन बनाए । साथै, सैयद हैदरले १४ रन जोडे ।

नेपालका लागि गुल्शन झाले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एकरएक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पुरै ओभर खेलेर ९ विकेट क्षतिमा ११९ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाए । उनले ४० बलमा ४ चौका र दुई छक्काको मद्धतमा ५० रन जोडे । गुल्शन झाले २०, करण केसीले १७ रन बनाए । अन्यको प्रदर्शन उल्लेख्य रहेन ।

ओपनर कुशल भुर्तेल गोल्डेन डकआउट हुँदा आसिफ शेखले ८ रन बनाए । कप्तान रोहितकुमार पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५ र सोमपाल कामी २ रनमा आउट भए ।

यूएईका लागि जुनैद सिद्दिकी, अली नसीर र बासिल हमिदले २र२ विकेट लिए ।

यससँगै नेपालले एसिया कप खेल्ने मौका गुमाएको छ । यो प्रतियोगिताको विजेता टोलीले एसिया कप खेल्न पाउनेछ । नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो ।

clock शुक्रबार ०७, बैशाख २०८१ १५:०३

प्रतिक्रिया