धनगढी हाफम्याराथनमा नेपाली सेनाका मुकेश पाल विजयी

  शनिबार ०१, बैशाख २०८१ १५:३३

धनगढी । नयाँ बर्षको अवसरका धनगढीमा आयोजना भएको हाफम्याराथनमा नेपाली सेनाका मुकेश बहादुर पाल विजयी भएका छन् । “अब धनगढी दौडिन्छ” नाराका साथ धनगढी जेसिसले आयोजना गरेको २१ किलोमिटर दुरीको हाफम्याराथनमा मुकेशले १ घन्टा ०७ मिनेट ५७.३५ सेकेन्डमा पुरा गर्दै प्रथम स्थान प्राप्त गरे । जीतसँगै उनले ६६ हजार ६६६ रुपैयाँको पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा दुर्गाबहादुर बुढाले १ घन्टा ०८ मिनेट १२.७७ मिनेटमा दुरी पार गर्दै द्वितीय स्थानप्राप्त गरे । उनलाई ४४ हजार ४४४ रुपैयाँ प्रदान गरियो । त्यस्तै, १ घन्टा ०८ मिनेट ४९.८६ सेकेन्डमा दूरी पुरा गर्दै तृतीय बनेका नरेन्द्रसिंह रावतले ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गरेको कार्यक्रम संयोजक आशिस शाहले जानकारी दीए ।

हाफम्याराथनमा निकै ठूलो संख्यामा खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो । हाफम्याराथन धनगढी रंगशालाबाट सुरु भएर शहीद गेट, गेटा हुँदै गेटा मेडिकल कलेज मनेहरा पुल पुगेर पुनः धनगढी रंगशालामा पुगेर समापन भएको संयोजक शाहले जानकारी दीए । ।

त्यस्तै, पुरुष ५ किलोमिटर दौडतर्फ कविर कामी १७मिनेट ६५.७१ सेकेन्डसहित प्रथम, विकास बोहरा १७ मिनेट ८४.४६ सेकेन्डसहित द्वितीय र विकास सिंह १८ मिनेट २१.३१ सेकेन्ड तृतीय बने ।

यस्तै ५ किलोमिटर महिला दौडतर्फ कमला बडुवालले १८ मिनेट ५०.४६ सेकेन्डमा दुरी पार गर्दै प्रथम, बागेश्वरी धामी १९ मिनेट ०३.२४ सेकेन्डसहित द्वितीय र तुलसी रावत १९ मिनेट ४४.२८ सेकेन्डसहित तृतीय बनिन् । दुवै विधाका विजेताहरूले क्रमशः ६ हजार ६६६, ४ हजार ४४४ र ३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गरे ।

धनगढी जेसिसका अध्यक्ष अरुण सिंहकाअनुसार धनगढी जेसिसले १० वर्षदेखि हरेक नयाँ वर्षको पहिलो दिन धनगढी हाफम्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितालाई यस वर्षदेखि नेपाल एथलेटिक्स संघले मान्यतासमेत दिइसकेको छ । प्रतियोगितामा बन्ने किर्तिमानहरूसमेतले मान्यता पाउने जनाइएको छ ।

clock शनिबार ०१, बैशाख २०८१ १५:३३

प्रतिक्रिया