नेपालमा बनेका सवारी साधन दर्ताको बाटो खुल्यो

  बिहिबार १४, बैशाख २०८० १३:३०

काठमाण्डौँ । नेपालमै बनेका सवारी साधन दर्ताको बाटो खुलेको छ। नेपालमा उत्पादन भएका सवारी साधनमा हालसम्म प्रज्ञापन पत्रको अभावमा दर्ता हुन सकिरहेका थिएनन् । सरकारले कानूनी अड्चन फुकुवा गरेसँगै नेपालमा बनेका सवारी साधन दर्ताको बाटो खुलेको हो।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा नेपालमै बनेका नयाँ सवारी साधनको दर्ता, लिलामी दर्ता, नामसारीलगायत व्यवस्था समेटिएको छ।

यातायात व्यवस्था विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा नयाँ बुँदा थप गरी संशोधन गरिएको जानकारी दिएको हो।

कार्यविधि निर्देशिकामा नेपालमा बनेका सवारी साधन दर्ता तथा नामसारीका लागि भन्सार प्रज्ञापनपत्र आवश्यक नपर्ने व्यवस्था गरिएको छ। तर उत्पादक कम्पनीलाई भ्याट बिल बिजक भने आवश्यक पर्नेछ। निर्देशिकामा दुई वटाबुँदा थप गरिएको छ।

जसअन्तर्गत पहिलो बुँदामा भनिएको छ ‘यस निर्देशिकामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भएता पनि विदेशबाट पार्टपुर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारी लगायत प्रयोजनका लागि त्यस्ता सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन।’

थप गरिएको दोस्रो बुँदामा यी सवारी साधनको दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारी लगायत कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर बिजक र प्रचलित कानुनबमोजिम अन्तःशुल्कसम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्तःशुल्क निकासी फारमसमेत भर्नुपर्ने व्यवस्था गरिएको छ।

यो व्यवस्थापछि नेपालमा बनेका ‘यात्री’ लगायत सवारी साधन दर्ता, नामसारी, पुनः दर्ता, लिलामी दर्ता लगायत कार्यका लागि अवरोध खुला हुनेछ। नेपालमा विद्युतीय मोटरसाइकल ‘यात्री’ उत्पादन हुँदै आएको छ।

clock बिहिबार १४, बैशाख २०८० १३:३०

प्रतिक्रिया