चौथो गौरीगंगा गोल्डकप सुरु

  बुधबार २३, फागुन २०८० ०७:४५

धनगढी । कैलालीको गौरीगंगामा चौथो संस्करणको गौरीगंगा गोल्डकप२०८० सुरु भएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ८ स्थित खेल मैदानमा चौथो संस्करणको गौरीगंगा गोल्डकप सुरु भएको हो। प्रतियोगिताको सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले उद्घाटन गरे। 

आयोजक गौरीग्ंगा ११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पमुख अतिथिको रुपमा बोल्दै कानुन मन्त्री भट्टले खेलकुद प्रदेश र स्वास्थ्यका लागि अपरिहार्य रहेकोले यसको विकास गर्नुपर्नमा जोड दिए। उनले खेलकुद क्षेत्रलाई उकास्नका लागि प्रदेश सरकार पनि लागिपरेको बताए। 

सुदुरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बम र सुदुरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंह विशिष्ठ अतिथि रहेको उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएका थिए। यसअघि फागुन १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने भनिएको प्रतियोगिता  प्रतिकुल मौसमका कारणले तीन दिन पछि सारिएको हो। प्रतियोगिता अब चैत १ गतेसम्म आयोजना हुने छ। कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यो सिजन १० टोलीको सहभागिता रहेको छ। यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन। सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन।

प्रतियोगिताको उद्घाटन खेल घोडाघोडी युवा क्लब र सुदूरपश्चिम–११ स्पोर्टस क्लबले प्रतिस्प्र्धा गरेका छन्। खराब मौसमका कारणले दुबै टोली बीचको खेल स्थगित गरिएको छ। पहिलो हाफ बराबरी खेलेका टोलीबीचको दोस्रो हाफको आधा खेल साँझ परेपछि स्थगित गरिएको हो। बाँकी समयको खेल भोली विहान ११ बजे खेलाईने भएको छ । प्रतियोगिता अन्तर्गत भोली हुने अर्को खेलमा विएस १५ र स्टार सिटी ब्वाईज युनियन बीच प्रतिस्पर्धा हुनेछ। 

कैलालीमा राष्ट्रियस्तरका खेल आयोजना गर्न मिल्ने अर्को रंगशाला निर्माणमा जोड दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेकाले सोही अनुसार फुटबलको पुर्वाधार निर्माणका लागि दबाब दिन विगतदेखि गोल्डकप आयोजना गर्दै आएको आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्बलले जनाएको छ। 

clock बुधबार २३, फागुन २०८० ०७:४५

प्रतिक्रिया