कञ्चनपुरबाट नियन्त्रणमा लिइएको बाघको नाम ‘महारानी’ राखियो

  सोमबार ११, बैशाख २०८० ०७:१४

धनगढी ।  शनिवार कञ्चनपुरबाट नियन्त्रणमा लिइएको बाघ ललितपुरस्थित चिडियाखानामा राखिएको छ । गत शुक्रवार बिहान कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई गाउँकी ४२ वर्षीया गङ्गा चन्दलाई आक्रमण गरी मारेको थियो ।

बाघलाई नियन्त्रणमा लिन बर्दियाबाट बाघविज्ञ डा दिनेश देवकोटा नेतृत्वको टोलीले शनिवार बिहान बाघ नियन्त्रणमा लिएको थियो ।  शनिवार राति नै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णय अनुरूप बाघलाई सदर चिडियाखाना पठाइएको हो ।

आइतबार साँझ साढे ५ बजे सो सदर चिडियाखानामा पुर्‍याइएको  र  यो पोथी बाघको नाम ‘महारानी’ राखिएको छ । चिडियाखानाका प्रमुख डा‍. नरेश सुवेदीले यो बाघलाई यहाँ भएको महाराज बाघसँगै राखिने भएकाले हामीले महारानी नामकरण गरिदिएको बताए ।महारानीको अबको बाँकी जीवन चिडियाखानामा बित्ने कोषका सदस्य सचिव शरद अधिकारीले बताए ।

उनका अनुसार २०७५ सालमा चितवनबाट उद्धार गरिएको महाराज नाम गरेको बाघसँगैको खोरमा यो बाघलाई राखिने भएकाले नामकरण पनि महारानी राखिएको हो । चिडियाखानामा महाराज नाम गरिएको बाघको उमेर अन्दाजी १२ वर्षको छ ।

चिडियाखानामा रहेका अन्य भाले बाघहरुभन्दा ठूलो भएकाले यसको नाम महाराज राखिएको थियो । बाघले एक पटक मानिसको आक्रमण गरेपछि पुनः मानिसलाई आक्रमण गर्ने र जङ्गलमा छाड्दा झन् समस्या हुने भएकाले घरमा राख्नुको विकल्प नभएको सुवेदीले बताए ।

clock सोमबार ११, बैशाख २०८० ०७:१४

प्रतिक्रिया