सुवासको पाँच विकेटका बावजुद नेपाल बंगलादेशसँग पराजित

  बुधबार १७, माघ २०८० २०:०७

काठमाडौँ । आइसिसी यू–१९ विश्वकपअन्तर्गत सुपर–६ को पहिलो खेलमा नेपाल पराजित भएको छ। दक्षिण अफ्रिकामा बुधबार भएको खेलमा नेपाललाई बंगलादेशले पाँच विकेटले पराजित गरेको हो।  

नेपालले दिएको १७० रनको लक्ष्य बंगलादेशले पाँच विकेटको क्षतिमा २५.२ ओभरमा पूरा गर्‍यो।  बंगलादेशका लागि जिशान अलामले ५५ रन र अरिफुल इस्लामले नटआउट ५९ रन जोडे। 

बलिङमा नेपालका सुवास भण्डारीले पाँच विकेट लिए। उनले ८ ओभरमा ४४ रन खर्चिए।  त्यसअघि दक्षिण अफ्रिकाको माङगाउन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अलआउट भयो।

बंगलादेशविरूद्ध नेपालका मध्यक्रमका ब्याटर विशालविक्रम केसी अर्धशतक बनाउन चुके।  ४८ रन बनाएर आठौं विकेटको रुपमा आउट भएका विशालले १०० बल खेल्दा ६ चौका प्रहार गरे।

खराब सुरूवात गरेको नेपालले ९ ओभर चल्दा दुवै ‌ओपनरसहित तीन विकेट गुमाएको थियो भने २९ रन जोडेको थियो।

ओपनिङ ब्याटर विपिन रावल चौथो ओभरमा २ रनमा आउट भए। आठौं ओभरमा आकास त्रिपाठी ३ रनमा क्याच भए। लगत्तै अर्को ओभरमा ओपनर अर्जुन कुमाल १४ रनमा आउट हुँदा नेपाल सुरूमै संकटमा परेको थियो। अर्जुनले २६ बलमा २ चौका प्रहार गरे।

त्यसपछि कप्तान देव खनाल र विशालले चौथो विकेटका लागि ६२ रनको साझेदारी गरे। २८औं ओभरमा आउट हुनुअघि देवले ६० बलमा ३ चौकाको मद्दतमा ३५ रन बनाए। 

देव आउट भएपछि नेपालले लगातार विकेट गुमाएको थियो। गुल्सन झा, दिपक बोहरा र दिपेश कँडेल तीनै जना ३/३ रनमा आउट भएका थिए। यस्तै आकास चन्द पनि शून्यमै पेभिलियन फर्के। अन्तिमसम्म ब्याटिङ रहेका सुवास भण्डारीले नटआउट १८ रन जोडे। नेपालका लागि एक मात्र छक्का हिर्काएका दुर्गेश गुप्ताले अन्तिम विकेटको  रुपमा आउट हुनुअघि ९ रन बनाए।

बलिङमा बंगलादेशका  रोहानत बोर्सनले ४ विकेट लिए। उनले ८.५ ओभरमा २ मेडन राख्दा १९ रन मात्र दिए। शेख जीवनले ३ विकेट लिए। शेखले १० ओभरमा २ मेडन राख्दा ३४ रन खर्चिए। 

सुपर(६ को शीर्ष दुईमा पर्दै सेमिफाइनल पुग्ने सम्भावना नेपालको यसअघि नै समाप्त भइसकेको छ। त्यसैले नेपालका लागि आज बंगलादेश र शुक्रबार भारतविरूद्धको खेल प्रतिष्ठाको लडाइँ हो।

clock बुधबार १७, माघ २०८० २०:०७

प्रतिक्रिया