विवाहमा प्रयोग हुँदै आएको डोली लोप हुँदै

  मङ्गलबार १६, माघ २०८० १०:१०

बाजुरा । विवाहमा प्रयोग हुँदै आएको डोली (म्याना) लोप हुँदै गएको छ । छदेखि सात फिट लामो र गोलो कुर्सी आकारको डोलीमा रातो कपडाले छोपेर त्यसभित्र बेहुलीलाई राख्ने गरिन्छ । गाउँघरमा सडक यातायातको पहुँचसँगै सवारीसाधनको प्रयोग बढेपछि भने परम्परागत डोली हराउन थालेको हो । बाजुराका अधिकांश गाउँबस्तीमा विवाहमा दुलही बोक्ने डोली प्रयोग हुँदैन । 

डोली बिस्तारै लोप हुँदै गएको खप्तड छेडेदह गाउँपालिका–२ का स्थानीय भरुनी नेपालीले बताउनुभयो । “पहिला गाउँमा कसैको विवाह भएमा डोली कसको घरमा छ भनेर खोजी हुन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले गाडी कसको छ भन्ने गरेका छन् ।”

 डोलीको खोजभन्दा पहिला गाडीको खोज हुन थालेपछि डोला बिस्तारै लोप हुँदै गएको हो । उतिबेला हरेक गाउँमा कम्तीमा एउटा डोली हुने गरेको सम्झना उहाँले गर्नुभयो । “त्यतिबेला गाउँमा सडक थिएन, डोली अनिवार्य थियो,” उहाँले थप्नुभयो, “उतिबेला म पनि डोली चढेर आएकी थिएँ, अहिले छोराको विवाहमा  बुहारी ल्याउन डोली होइन, गाडी भाडामा लिनु प¥यो ।”

विसं २०६५ भन्दा पहिला बाजुराका अधिकांश गाउँबस्तीमा विवाह हुँदा बरको काठबाट बनेको डोला, म्याना र घोडा प्रयोग हुन्थ्यो । २०७५ सालपछि गाउँबस्ती सडक सञ्जालको पहुँचमा भएसँगै विवाहमा प्रयोग हुने डोला र घोडा चढ्ने चलन बिस्तारै हट्दै गएको हो । हिमाली जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, गौमूल बडीमालिका, बुढीगङ्गा त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकाका अधिकांश गाउँबस्ती सडक सञ्जालको पहुँचमा छन् ।

परम्पराको हिसाबले विवाहमा डोली नै राम्रो हुने गरे पनि अहिले डोलीको सट्टा गाडी नै सहज हुने गरेको स्थानीयवासी बताउँछन् । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले डोली बोक्ने मान्छे पनि पाइँदैन । त्यसैले पनि डोली संस्कृति हराउँदै गएको बुढीगङ्गा नगरपालिका–९, त्रिपुरासुन्दरी प्राविका शिक्षक नैनबहादुर थापा बताउनुहुन्छ ।   

clock मङ्गलबार १६, माघ २०८० १०:१०

प्रतिक्रिया