जग्गाको कित्ताकाट खुल्यो

  बुधबार ०६, बैशाख २०८० ११:१०

काठमाडौँ ।  सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मन्त्रिपरिषद् बैठकले मंगलबार भू–उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली–०७९ लाई स्वीकृत गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनाइन् ।

कित्ताकाट र घरजग्गा कारोबारसम्बन्धी भूउपयोग नियमावली–०७९ का अप्ठ्यारा प्रावधान हटाइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पनि प्रस्ट्याए । गत जेठ २३ मा नियमावली जारी हुँदा मंसिर २३ सम्म कृषि एवं गैरकृषि क्षेत्र छुट्याइसक्नुपर्ने र त्यसपछि १० वटै भागमा वर्गीकरण गर्नुपर्ने नियमावलीमा उल्लेख थियो ।

मंसिर २३ पछि पालिकाहरूले १० वटै भागमा वर्गीकरण गर्नुपर्ने व्यवस्था थियो । तर वैशाख ४ सम्म १५६ वटा पालिकाले मात्र वर्गीकरण गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।

पालिकाहरूले वर्गीकरण नगर्दा घरजग्गा कारोबार र कित्ताकाटमा कमी आएको थियो । यद्यपि महिनैपिच्छे घरजग्गा कारोबार, कित्ताकाट र राजस्वसमेत बढ्दै गएको भूमि विभागको तथ्यांक छ । तर आर्थिक संकट आउनुमा घरजग्गा कारोबार नै मुख्य कारण रहेको र त्यसलाई सल्ट्याउने प्रधानमन्त्री र अर्थमन्त्रीले सार्वजनिक कार्यक्रममै बताउँदै आएका छन् ।

clock बुधबार ०६, बैशाख २०८० ११:१०

प्रतिक्रिया