कञ्चनपुरमा भारतीय एसएसबीको दादागिरीः गाडेका विद्युत् पोल उखेलेर फालियो

  बुधबार ०६, बैशाख २०८० ११:०५

कञ्चनपुर। कञ्चनपुरमा विद्युत् लाइन व्यवस्थितका लागी गाडिएका पोल भारतीय सशस्त्र सीमा बल ९एसएसबी०ले उखेलेर फालेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईमा विद्युत् लाइन व्यवस्थित गर्न खोज्दा भारतीय एसएसबीले अवरोध गर्दै विद्युत् पोल उखेलेर फालेका छन्।

पचुईमा एसएसबीले सीमा विवादकै कारण ५ वर्षदेखि हुलाकी सडक निर्माणमा पनि अवरोध गर्दै आएको छ । पछिल्लो पटक चैत दोस्रो साता विद्युत् प्राधिकरण बेलौरी शाखाले लाइन व्यवस्थित गर्न खोजेको थियो । विगतमा खेतमा गाडिएको विद्युत् पोललाई हुलाकी सडक किनारमै गाड्न खोज्दा एसएसबीले अवरोध गरेको हो ।

बेलौरीका सन्तोष पन्तले एकरदुई पोल गाडिएको र भारतीय एसएसबी आएर गाडेका पोल उखेलेर फालेको बताए।उनले खप्टी पुलनजिकै भारततर्फ कम्बोजनगर क्षेत्रका एसएसबी आएर रोक लगाएका बताए ।

सीमा विवाद देखिएको क्षेत्रमा आइतबार प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय प्रमुखले अनुगमन गरेका छन् । प्रजिअको टोलीले स्थानीयसँग छलफल र भौगोलिक अवस्थाबारे जानकारी लिएको थियो । प्रजिअ गोपालप्रसाद अर्यालले सो क्षेत्रमा कुनै विवाद नभएको र नेपालको बस्ती भएको क्षेत्र भएको बताए ।

उनले हुलाकी सडक र विद्युत् लाइन विस्तारमा सहजीकरणका लागि भारतीय सुरक्षा निकायसँग पनि कुरा भएको बताए । उनले गत पुसमा भारत उत्तराखण्डको उधमसिंहनगरमा भएको सीमा क्षेत्रका सुरक्षा निकायका प्रमुखको बैठकमा यस विषयमा कुरा भएको बताए ।

बैठकमा उत्तराखण्डको चम्पावत र उधमसिंहनगर तथा उत्तर प्रदेशको पिलिभित जिल्लाका सुरक्षा अधिकारीको उपस्थिति थियो। पिलिभितका डीएमले उक्त क्षेत्रको अवस्थाबारे जानकारी लिन प्रतिनिधि पठाएर निर्माण कार्यमा सहजीकरण गर्ने बताएका थिए । अहिले विवाद आएपछि फेरि पिलिभितका डीएमसँग छलफलको तयारी भइरहेको प्रजिअ अर्यालले बताए।

विद्युत् लाइन व्यवस्थितसँगै हुलाकी सडक निर्माणको कामसमेत सञ्चालन गर्ने विषयमा छलफल गरिने उनको भनाइ छ । यसअघि पनि काउन्टर पार्ट बैठकमा यसबारे पटकपटक छलफल भएको थियो । तर, भारतीय पक्षले यस विषयको आफ्नो अडान भने कायमै राखेको छ ।  हुलाकी सडक निर्माणको काम रोकिँदा १२ सय मिटर सडक खण्ड अलपत्र परेको छ ।

एसएसबीले उक्त क्षेत्र दशगजामा पर्ने भन्दै पटकपटक अवरोध गर्दै आएको छ । कञ्चनपुरमा पुनर्वास नगरपालिकाको डोकेबजारदेखि बेलौरीको बुटाबारीसम्म २२ किलोमिटर सडक खण्डमा पर्ने उक्त क्षेत्रमा निर्माण कम्पनीले यही बहाना देखाएर काम रोकेको छ। भारतीय पक्षले पछिल्लो पटक स्ट्रिप नक्सा देखाउँदै ठाउँठाउँमा विवाद गर्दै आएको छ । पचुई क्षेत्रमा पनि स्ट्रिप नक्साकै आधारमा एसएसबीले अवरोध गरिरहेको हो।

बेलौरी–१० भुडामा नेपालीको लालपुर्जा भएको जमिनसँगै महाकाली सिँचाइ आयोजना दोस्रो चरणको नहरसमेत भारतमा पर्ने स्ट्रिप नक्साले देखाएको छ । ०७६ चैतमा दुवै देशको संयुक्त सर्भे टोलीले स्ट्रिप नक्साअनुसार नापी गर्दा पुनर्वासदेखि बेलौरी र बेलडाँडीमा लालपुर्जा भएको थुप्रै जमिन भारतमा पर्ने देखिएपछि स्थानीयले नापी टोलीलाई अवरोध गरेका थिए । स्थानीयकै विरोधपछि संयुक्त टोली फिर्ता भएको थियो। स्ट्रिप नक्सा खारेजीको माग गर्दै स्थानीय पटक–पटक डेलिगेसनसहित काठमाडौं पुगेका थिए।

clock बुधबार ०६, बैशाख २०८० ११:०५

प्रतिक्रिया