बझाङमा बोक्सो धपाउने पर्व सम्पन्न

  बुधबार ०६, बैशाख २०८० १०:४१

बझाङ । बझाङमा बोक्सो धपाउने पर्व सम्पन्न भएको छ । परापुर्वकाल देखि मनाईदै आएको बोक्सो धपाएको सम्झनामा मनाईने पर्व सम्पन्न भएको हो ।

थलारा गाउँपालिका–९ अफ्लामा यो पर्व प्रत्येक वर्ष नव वर्षको आगमनसँगै २र४ दिनसम्म विभिन्न मनोरन्जनात्मक तरीकाले मनाईने र मिठा मिठा परिकारहरु खाएर मनाउने परम्परा रहेको छ ।

यस वर्ष पनि डेउडा खेल, भारी खेल, लिङ्गो खेल (काँकर), भकुण्डो खेल सहित पर्व मनाईएको हो । परापुर्वकालमा महिसासुर दानवले मानव बस्ति भएको ठाउँमा भुतप्रेत लाग्ने विभिन्न किसिमका छलकपटहरु गर्ने गरेको पौराणिक भनाई छ ।

तोल्यानी भन्ने ठाउँमा कोही कसैले पनि जान नहुने, त्यहाँ भएका घर परिवारहरु समेत भागेर गाउँ नजिकैको अर्को ठाउँ बस्नु परेको थियो । पछि मष्टा देवताले उक्त दानवको अन्त्य गरेको सम्झनामा यो पर्व मनाइँदै आएको पौराणिक भनाई छ ।

स्थानीय बासिन्दा धन बहादुर भण्डारीले महिसाशुरको बध गरेको खुसियालीमा यो पर्व मनाईन थालेको बताउनुभयो । साना बालबालिका तथा महिलाहरुलाई बोक्सो लाग्ने, विभिन्न छलकपटहरु गर्ने किम्बदन्तीका आधारमा यो पर्व मनाईदै आईएको छ ।

त्यस खुसियालीमा लिङ्गो खेल्ने, भकुण्डो खेल्ने, भारीखेल चाँभाई खेल, डेउडालगायत विभिन्न खेल खेल्नुका साथै मिठा मिठा परिकार बनाएर खाने प्रचलन अहिलेसम्म पनि छ ।

महिसासुरको पेट चिरेको खुसियालीमा काठको झण्डै २५ मिटर लामो कांकरलाइ मानिसहरुले समाएर १ सय ५० मिटर जति हिडाउने गरिन्छ । काँकरलाई हिडाईसकेपछी गाउँ परिक्रमा गरी चौर भन्ने ठाउँमा उक्त काँकरको पुजाआजा सहित छोड्ने प्रचलन रहेको स्थानीय ज्ञान बहादुर विष्टले बताउनुभयो ।

पहिला बोक्सोले डराएको र महिसासुरले डराउने ठाउँमा अहिले भने मानव बस्ती छ । जब मष्टा देवताले महिसासुर तथा बोक्सोको अन्त्य गर्यो । त्यसपछि यहाँ मानिसको बसाई भएको यहाँका बुढापाका बताउँछन् । अहिले भने भुखाडामा कालिका प्राथिमक विद्यालय समेत संचालनमा छ ।

clock बुधबार ०६, बैशाख २०८० १०:४१

प्रतिक्रिया