टेलिकमको लिलाम घोटाला : थप अनुसन्धानको जिम्मा प्रहरीलाई

  शनिबार ०६, माघ २०८० ०७:४८

धनगढी । नेपाल टेलिकमको तामाजन्य (स्क्रप कपर केबल) कवाडी सामानको लिलाम बिक्रीमा अनियमितता भएको घटनाको थप अनुसन्धानका लागि कैलाली जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ । 

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिएको बताए । गेटा कार्यालयबाट राजश्व छलेर निर्धारितभन्दा झण्डै दोब्बर तौलको तामाजन्य सामान लोड गरेर नेपालगञ्ज लैजादै गर्दा गत आइतबार सुरक्षाकर्मीले दुई वटा ट्रकलाई बीच बाटोबाटै नियन्त्रणमा लिएको थियो ।


त्यसपछि प्रजिअ मिश्रले प्रशासकीय अधिकृत शिवराज जोशीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तीन वटा सुरक्षा निकायका प्रतिनिधिसम्मिलित ६ सदस्यीय छानवीन समिति गठन गरेका थिए ।

छानविन समितिले नियन्त्रणमा लिएका ट्रकहरुमा रहेको सामान पुनः तौल गर्दा टेलिकमको कार्यालयमा दाखिला गरिएको भन्दा १२ हजार ५७१ किलो (१२.५७१ टन) बढी तौलको सामान फेला पारेको थियो ।

टेलिकमको दुरसंचार कार्यालय गेटाबाट १५ हजार ६ सय ७९ किलो (१५.६७९ टन) बिक्री गरेर निकासा गरिएको अभिलेख छ । तर पुनः तौल गर्दा २८ हजार २५० किलो (२८.२५० टन) सामान फेला परेको थियो ।

ठेक्का सम्झौता अनुसार टेलिकमले लिलाम बिक्री गरेको उक्त तामाजन्य सामग्रीको बिक्रि मूल्य प्रति टन भ्याटसहित आठ लाख ५० हजार ८९० रुपैया पर्छ । जस अनुसार बढी तौल छलेर निकासी भएको परिमाणको मुल्य एक करोड ६ लाख ९६ हजार रुपैया हुन आउछ । जो टेलिकमलाई नोक्सान भएको स्पष्ट छ ।

निर्देशनालयका अनुसार प्रवल थापाको नाममा रहेको बिएलएस कन्स्ट्रक्सन काठमाण्डौं नामक कम्पनीले प्रादेशिक निर्देशनालयसँग ९६ टन कवाडी खरिदको सम्झौता छ । टेलिकमको सम्पर्कमा कम्पनीको तर्फबाट श्याम कुमार जैसवालले कारोबार हेर्ने गरेका छन् ।

उक्त कम्पनीले टेलिकसँग प्रतिकिलो भ्याटसहित ८ सय ५० रुपैया ८९ पैसामा खरिद सम्झौता गरेको छ । ठेक्का सम्झौता अनुसार टेलिकमले लिलाम गरेको उक्त तामाजन्य सामग्रीको बिक्री मूल्य प्रति टन भ्याटसहित आठ लाख ५० हजार ८९० रुपैया पर्छ । ठेकेदार कम्पनीले निर्देशनालयका अनुसार कम्पनीले टेलिकमका विभिन्न कार्यालयहरुबाट हालसम्म ६७ हजार २४९ किलो सामान उठाइसकेको अभिलेख छ ।

रा।१ ख ३२०६ नम्बरको लोड ट्रक ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । अर्को ना ६ ख ४६० नम्बरको ट्रक सशस्त्र प्रहरीको टोलीले कैलालीको टोलीले कैलालीको हसुलियाबाट नियन्त्रणमा लिएको थियो । दुबै ट्रकको सामान नेपालगञ्ज लिइदै थियो ।

सुरक्षा स्रोतका अनुसार जिल्ला प्रशासनद्धारा गठित छानवीन समितिले काम सुरु गरेदेखि नै टेलिकम र ठेकेदार सम्वद्ध पक्षले समितिका पदाधिकारीहरुलाई चर्को दबाबमा राखेका थिए ।

‘टेलिकमका उच्च अधिकारीसहितको मिलेमतोमा घोटाला गराउने प्रयास भएको हो । यसका कार्यमा सुरक्षा संयन्त्र, राजनीतिक क्षेत्रका प्रतिनिधिहरु घोटाला दबाउन सक्रिय छन्’ एक सुरक्षा अधिकृतले भने ‘जिल्ला प्रहरी कार्यालयका अधिकृतहरुलाई सत्यतथ्य ढाकछोप गराउन चर्को दबाब छ ।’

प्रहरी प्रमुख एसपी देबेन्द्रबहादुर पालले घटनाको थप अनुसन्धान हुने बताए ।

सम्बन्धित शिर्सक
clock शनिबार ०६, माघ २०८० ०७:४८

प्रतिक्रिया