कक्षा ८ को परीक्षामा धनगढीका १७ विद्यालयको नतिजा शुन्य

  सोमबार ०४, बैशाख २०८० १२:४९

धनगढी । कक्षा ८ को परीक्षमा धनगढीका १७ विद्यालयका निल भएका छन् । आइतवार तयार भएको परीक्षा नतिजामा धनगढीका विभिन्न १७ सामुदायिक विद्यालयबाट कुनै  पनि  विद्यार्थीले कक्षा ९ मा भर्ना हुने योग्यता हासिल नगरेको धनगढी उपमाहानगरले जनाएको छ ।

उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले नतिजा तयार गरेर प्रकाशित गर्न सम्बन्धित विद्यालयमा पठाइएकाले कुन कुन विद्यालयमा नतिजा शून्य आयो त्यो भन्न नमिल्ने बताए। तर, १७ जति विद्यालयमा कुनै विद्यार्थीले पनि कक्षा ९ मा भर्ना हुन आवश्यक ग्रेड प्राप्त नगरेको बताइएको छ।

उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार धनगढीमा ६३ सामुदायिक विद्यालय छन्। ६३ मध्ये कुन विद्यालयमा आगामी शैक्षिक सत्रमा कक्षा ९ मा भर्ना हुने विद्यार्थी  छैनन् भन्ने कुरा विद्यालयहरूले नतिजा प्रकाशन गरेपछि भन्न मिल्ने बताइएको छ।

धनगढीमा ३३ प्रतिशत विद्यार्थीमात्रै कक्षा ९ मा भर्ना हुन योग्य

आधारभूत तह कक्षा ८ को परीक्षामा निजी र सामुदायिक विद्यालयबाट ३३ प्रतिशत विद्यार्थी मात्रै कक्षा ९ मा भर्ना हुन योग्य देखिएका छन्। कुनै पनि विषयमा ननग्रेड नपाउनेको प्रतिशत केबल ३३ प्रतिशत मात्रै देखिएको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुत खातीले बताए। 

आधारभूत तहको परीक्षा नतिजा हेर्दा कम्तिमा कुनै एक विषयमा ननग्रेड पाउनेको संख्या निकै उच्च देखिएको छ। १ जना विद्यार्थीमा ३३ जना कक्षा ९ मा भर्ना हुन योग्य हुँदा ७७ जना विद्यार्थीको योग्यता पुगेको छैन। विद्यालयहरूमा गुणस्तरीय पढाई नहुँदा धनगढीमा कक्षा ८ को नतिजा निराशाजनक आएको छ।

धनगढी उपमहानगरपालिकाले कक्षा आठको परीक्षामा ननग्रेड कायम भएका विद्यार्थीका लागि बैशाख २९ र ३० गते सैद्धान्तिक तर्फ बढीमा दुई विषयमा ननग्रेड कायम भएका विद्यार्थीहरूका लागि ग्रेड वृद्धि परीक्षा हुने तय भएको जनाएको छ । 

clock सोमबार ०४, बैशाख २०८० १२:४९

प्रतिक्रिया