क्यामरामा देखिएन बाघ

  सोमबार ०४, बैशाख २०८० ११:०८

कञ्चनपुर । भारतको दुधुवा राष्ट्रिय निकुञ्जसँग जोडिएको बस्तीमा राखिएको क्यामरामा बाघ देखिएको छैन । निकुञ्जसँग जोडिएको बस्तीमा दिनहुँ बाघ देखिन थालेपछि पहिचानका लागि डेढ साताअघि उक्त क्षेत्रमा स्वचालित क्यामरा राखिएको थियो ।

लालझाडी मोहना करिडोरमा पर्ने पुनर्वास नगरपालिका–११ को गंगा जमुना सामुदायिक वन र कैलालीको धनगढी उपमहानगरपालिका–३ मा एकरएक जोडी क्यामरा राखिएको थियो । यसैगरी बेलौरी नगरपालिका–२ को थापा चोकमा एक जोडी क्यामरा जडान गरिएको हो । पुनर्वासको ‘घ’ गाउँमा भने शुक्रबार बाघ देखिएको थियो ।

शुक्रबार क्यामरा जडान गरिए पनि हालसम्म बाघ नदेखिएको सबडिभिजन वन कार्यालय कुन्डाका प्रमुख सहायक वन अधिकृत दिनेश यादवले बताए । उनका अनुसार क्यामरा जडान गरिएकै दिन गंगा जमुना सामुदायिक वनमा एक चितुवा देखिएको थियो । ‘त्यसपछि पनि चितुवा देखिएको छ, तर बाघ भने देखिएको छैन,’ उनले भने, ‘बाघ एकै ठाउँमा बस्दैन, कि त निकुञ्जतिरै फर्कियो, कि त ठाउँ बदल्यो ।’ क्यामरा राख्नुभन्दा अघिसम्म पुनर्वास र बेलौरीका बस्तीमा नियमित रूपमा बाघ देखिएको थियो । जसका कारण स्थानीय त्रसित बनेका थिए । डमरुसहित देखिएका कारण पनि स्थानीय बढी डराएको यादवले बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमले उक्त क्षेत्रमा क्यामरा जडान गरेको हो । अहिले संरक्षण कार्यक्रमकै प्राविधिकले क्यामराको अनुगमन गरिरहेका छन् । ‘त्यो बाघ यसअघि शुक्लाफाँटामा क्यामरा ट्र्यापिङमा परेको छ वा छैन पहिचान गर्न र कस्तो अवस्थामा र किन आइरहेको छ भन्ने जानकारीका लागि अध्ययन गर्न खोजिएको हो,’ संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले भने, ‘नदेखिएपछि अब क्यामरा निकालिनेछ ।’ उनले फेरि कतै देखिएमा पुनः जडान र अनुगमन गर्न सकिने बताए ।

बाघ देखिएको क्षेत्र लालझाडी मोहना करिडोरमै पर्छ । दुधुवासँगै जोडिएको करिडोरमा बाघलगायत वन्यजन्तुको ओहोरदोहोर हुनु नौलो कुरा होइन । तर बस्तीमा पस्दा मानवीय क्षति हुने भएकाले यसको अध्ययन गर्न खोजिएको जोशी बताउँछन् । ‘हामी करिडोर भनेर संरक्षण लगायतका गतिविधि गरिरहेका छौं,’ उनले भने, ‘तर बाघ देखिनेबित्तिकै आत्तिनु हुँदैन ।’ उनले करिडोरलाई व्यवस्थित पार्नुका साथै आसपासका क्षेत्रमा सतर्कता अपनाउनुपर्ने बताए ।

clock सोमबार ०४, बैशाख २०८० ११:०८

प्रतिक्रिया