बझाङमा खुला आकाशमुनि पठनपाठन
बझाङ । गत १६ असोजमा बझाङ केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गयो । मानवीय क्षति खासै नभए पनि भौतिक संरचनामा ठुलै क्षति पुग्यो । प्राथमिकतामा राहत दिन सरकार तत्पर रहे पनि सार्वजनिक भौतिक संरचनामा भने सरकारले अहिलेसम्म चासो दिएको छैन ।
विद्यालय भवनमा पूर्ण रूपमा क्षति हुँदा बालबालिकाको बिचल्ली भएको छ । थलारा गाउँपालिका– ९ स्थित भवानी आधारभूत विद्यालय भवन भूकम्पले भत्काएपछि बालबालिका खुला चौरमा अध्ययन गर्न बाध्य छन् । कक्षा ६, ७ र ८ का विद्यार्थी त्रिपालमुनि अध्ययन गरिरहेका छन् भने केही विद्यार्थी त्रिपाल बिच्छ्याएर खुला चौरमा पढ्न बाध्य छन् ।
दुई गाउँ चित्रु र फकालीबीच डाँडामा विद्यालय अवस्थित छ । हावाहुरी लागिरहने भएका कारण विद्यार्थीलाई अध्यापन गराउन निकै समस्या हुने गरेको प्राधानाध्यापक पूर्णबहादुर विष्ट बताउँछन् । ‘तिनकोठे पक्की भवन भूकम्पले गर्दा चिराचिरा परेको छ, भवनभित्र बस्न सकिने अवस्था छैन,’ उनी भन्छन्, ‘जसका कारण खुला चौरमा अध्यापन गराउनुपरेको छ, विभिन्न संघसंस्थाले दिएको त्रिपाल चौरमा बिच्छ्याएर अध्यापन गराउँदै आएका छौं, बिहानैदेखि निकै हावाहुरी चल्छ, यसले गर्दा सकस परिरहेको छ, मौसम चिसो छ, सामान्य पानी पर्दा र हावाहुरी चल्दा विद्यालय छुट्टी गर्नुपर्ने अवस्था छ ।’ यही वडाको पूर्ण चन्द्रोदय माविको अवस्था पनि यस्तै छ ।
भूकम्पका कारण चारकोठे पक्की भवनमा पूर्ण रूपमा क्षति पुग्यो । विद्यालय भवन ढल्यो । भवनमा कक्षा ३, ४, ५ र कम्प्युटर कक्षासमेत सञ्चालनमा रहेको थियो । कम्प्युटरमा समेत क्षति पुग्यो । दिउँसो भूकम्प गएका कारण विद्यार्थी बाहिर निस्किएपछि मानवीय भने क्षति हुन पाएन । यस विद्यालयका बालबालिकासमेत खुला चौरमा अध्ययन गर्न बाध्य छन् ।
‘केही संघसंस्थाले दिएका त्रिपालको सहायताले अध्यापन गराइरहेका छौं, त्रिपाल पनि हावाले चुँडेर लान्छ, डाँडामा विद्यालय भवन भएकाले हावाहुरी लागिरहन्छ,’ प्राधानाध्यापक टेक थापा भन्छन्, ‘कति दिन त बाध्यताले अरू कलाससँगै राखेर सगोलमा अध्यापन गराउनुपर्ने बाध्यता छ, तत्काल कुनै निकायले सामान्य टहरा निर्माण गरिदिए विद्यार्थीको पढाइ बिग्रिने थिएन, केही सजिलो हुने थियो, विद्यालयसँग आर्थिक क्षमता छैन ।’
यसै वडाको चक्रेश्वर माविको चर्केको भवनमा पनि जोखिम मोलेर अध्यापन गराउनुपर्ने बाध्यता छ । यता, वडा ५ स्थित थलारा मावि भवनसमेत पूर्ण रूपमा जीर्ण छ । यहाँँका विद्यार्थी पनि खुला चौरमा पढ्न बाध्य छन् । थलारा गाउँपालिका–९ वडाध्यक्ष लोकेन्द्रबहादुर विष्ट बजेट नभएको बताउँछन् । पालिकामा बजेट अभावका कारण समस्या भएको उनले बताए ।
प्रदेश र संघीय सरकारसँग बजेट माग गरेको बताउँदै उनले तत्काललाई प्रगतिशील युवा समाजमार्फत अस्थायी टहरा निर्माणका लागि सहयोग माग गरेको जानकारी दिए । उता, थलारा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर रोकायाले पाँचवटा विद्यालय तत्काल निर्माण गर्नुपर्ने देखिएको बताउँदै दुईवटाको अस्थायी टहरा निर्माणका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
पुनर्निर्माण प्राधिकरणसँग कुरा गर्दा पहिलो प्राथमिकता नागरिकका लागि अस्थायी टहरा निर्माणपछि मात्रै सार्वजनिक भौतिक संरचनामा जोड दिइने उनी बताउँछन् । समाजिक विकास कार्यालय प्रमुख प्रयागराज जोशी जिल्लाभरका विद्यालयको अवस्था’दयगत सामान्य जानकारीबाहेक डाटा नभएको बताउँछन् । स्थानीय तहमार्फत नै प्रदेश र संघीय सरकार तथा विभिन्न गैरसरकारी संघसंस्थाले तथ्यांक लिएको बताउँदै उनले विपद्मा शिक्षा कार्यक्रमअन्तर्गत संघीय सशस्त्र अनुदानमार्फत थोरै बजेट आए पनि कार्यविधि नभएका कारण कार्यान्वयनमा समस्या भएको जानकारी दिए ।
प्रतिक्रिया