धनगढी–दिपायल फास्ट ट्याक निर्माणमा कमसल गुणस्तरको कालोपत्र
धनगढी । धनगढी–दिपायल द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत धनगढी–स्याउले खण्डमा कालोपत्र गर्ने काममा लापरबाही भइरहेको छ। कालोपत्र पूरा नहुँदै पहिलो कोट गरिएको खण्डको विभिन्न ठाउँमा खाल्डाखुल्डी परेका छन्।
कमजोर गुणस्तरको प्रविधि मानिने डबल बिटुमिन सरफेस ट्रिटमेन्ट (डीबीएसटी) प्रविधिबाट सो सडक खण्ड कालोपत्र भइरहेको हो। यस प्रविधिको कालोपत्रको आयु बढीमा तीनरचार वर्ष हुने प्राविधिकहरू बताउँछन्।
त्यही कारण पहिलो कोट गर्दागर्दै बेस भत्किन थालेको हो। पहिलो कोट गरिएको केही समयपछि दोस्रो कोट हुने निर्माण कम्पनीले जनाएको छ। नेपालमा सडक कालोपत्र गर्न अस्फाल्ट, प्रिमिक्स, डीबीएसटी र ओटासिल गरी चारवटा गुणस्तर प्रविधि चलनचल्तीमा छन्।
अस्फाल्ट सबैभन्दा गुणस्तरीय मानिन्छ। धनगढी–स्याउले खण्डमा डीबीएसटी प्रविधिमा कालोपत्र किन गरियो भन्नेमा सम्बन्धित निकायका प्राविधिकहरू डीपीआर नै त्यही भएकाले बदल्न नमिलेको तर्क गर्छन्।
‘डीबीएसटी प्रविधिको कालोपत्रेको लागत सस्तो हुन्छ,’ धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडक आयोजनाका प्रमुख दिनेश रौखोलाले भने, ‘खाल्डाखुल्डी परेपछि माथिबाट थप्दै जानुपर्ने हुन्छ।’
धनगढी–खुटिया १३ दशमलव ४ किलोमिटर खण्ड कालोपत्रका लागि आयोजना कार्यालयले २०७८ जेठ तेस्रो साता खड्का कृष्ण नारायणम् जेभीसँग १८ करोड ५१ लाखमा ठेक्का सम्झौता गरेको थियो।
सम्पन्न गर्नुपर्ने म्याद मंसिर २० मा सकिएको भए पनि काम भने अधुरै छ। म्याद थपको प्रक्रियामा रहेको आयोजना कार्यालयले जनाएको छ। हाल धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडक आयोजना कार्यालयले धनगढीदेखि उरैभन्ज्याङ सम्मका लागि ६ वटा ठेक्का लगाएर काम भइरहेको छ।
धनगढीदेखि हाटखोलीसम्म २० किलोमिटर कालोपत्रका दुईवटा ठेक्का छन्। जसको म्याद यही मंसिर २० सकिएको भए पनि काम पुरा हुन सकेको छैन्।
प्रतिक्रिया