आजबाट सुदूरपश्चिम महोत्सव, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

  शुक्रबार २२, मङि्सर २०८० ०९:०२

धनगढी । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि धनगढीमा सुदूरपश्चिम महोत्सवको १७ औं संस्करण सुरु हुने भएको छ।

२ पुससम्म चल्ने महोत्सवका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। 

बिहीबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुष्प कुँवरले दिउँसो साढे १२ बजे प्रधानमन्त्री दाहालले महोत्सवको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको बताए।

प्रधानमन्त्री दाहाल शुक्रबार बिहान बुद्ध एयरको विमानमार्फत धनगढी आउनेछन् भने उनी शुक्रबार साँझ काठमाडौँ फर्किने छन्।

महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको कुँवरले बताए। झण्डै २ करोडको लगानीमा सञ्चालन हुने महोत्सव ५ लाख जनाले अवलोकन गर्ने उद्योग वाणिज्य संघले जनाएको छ।

महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरेर ४ सय स्टल रहनेछन्।

महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई १ सय रुपैयाँ र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघले जनाएको छ।

clock शुक्रबार २२, मङि्सर २०८० ०९:०२

प्रतिक्रिया