युद्धविरामको दोस्रो दिन हमासले छाड्यो १७ बन्धक, इसराइलले ३९ कैदी

  आइतबार १०, मङि्सर २०८० ०७:०६

काठमाडौँ । गजामा युद्धविराम भएको दोस्रो दिन प्यालेस्टाइनको अतिवादी समूह हमासले १७ बन्धक छाडेको छ।सिएनएनका अनुसार शनिबार हमासले १३ इसराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको हो। बदलामा इसराइलले ३९ प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको छ।

इसराइली डिफेन्स फोर्सले एक विज्ञप्ति जारी गर्दै हमासले १७ बन्धक रिहा गरेको पुष्टि गरेको छ। उनीहरूलाई रेडक्रसले इसराइल पुर्‍याइ अस्पताल लगेको छ। युद्धविरामको पहिलो दिन हमासले २४ बन्धक र इसराइलले ३९ प्यालेस्टिनियन कैदीबन्दी रिहा गरेको थियो।

योसँगै हमासले मुक्त गरेको बन्धकको संख्या ४१ पुगेको छ भने ७८ प्यालेस्टिनियन कैदीबन्दी इसराइलको जेलबाट मुक्त भएका छन्। युद्धविरामबीच गजामा विभिन्न मुलुकहरूले मानवीय सहायता पुर्‍याइरहेका छन्। त्यहाँ अत्यावश्यक इन्धन, खाद्यान्न र औषधी लगायतका मानवीय सहायता इजिप्ट लगायतका देशहरूले लगिरहेका छन्।

इसराइल र हमासबीच पहिलो चरणमा ५० जना बन्धक र १५० जना कैदी छाड्ने सहमति भएको थियो। उक्त सहमतिलाई इसराइलको मंगलबार अनुमोदन गरेको थियो भने शुक्रबार बिहानदेखि गजामा युद्धविराम भएको थियो।

हमासले प्रत्येक दिन कम्तिमा १० जना बन्धक मुक्त गर्ने र त्यसवापत इसराइलले गजामा थप एकदिन युद्धविराम लम्ब्याउने भनिएको छ। अक्टोबर ७ मा हमासले इसराइलमाथि आक्रमण गरी इसराइलसहित २६ देशका २३९ नागरिकहरूलाई बन्दी बनाएर गजा लगेको थियो। जसमा नेपालका विपिन जोशी पनि छन्।

हमासको आक्रमणमा इसराइलमा १० नेपाली नागरिकसहित १ हजार २ सय जना मारिएको थिए। त्यसयता हमासलाई निशाना बनाउँदै इसराइलले लगातार गजामा आक्रमण गर्दै आइरहेको थियो। 

इसराइलको आक्रमणबाट गजामा १३ हजारभन्दा बढी नागरिकहरूको मृत्यु भइसकेको छ। ठूलो संख्यामा नागरिकहरूको मृत्यु भएपछि गजामा युद्धविराम गर्न अन्तर्राष्ट्रिय समूदाय र संयुक्त राष्ट्रसंघले इसराइललाई दबाव दिँदै आइरहेको थियो।

हमासले सबै बन्धकलाई मुक्त गरेपछि इसराइलले पुनः गजामा आक्रमण गर्ने प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले बताएका छन्।

clock आइतबार १०, मङि्सर २०८० ०७:०६

प्रतिक्रिया