सुदूरपश्चिमका पहाडी जिल्लामा मेलाको रौनक सुरु

  बिहिबार ०७, मङि्सर २०८० १०:३०

डडेलधुरा । सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका विभिन्न देवीदेवताका मन्दिरमा मेला (जात्रा) को रौनक सुरु भएको छ । पुख्र्यौली थलो छाडेर तराई झरेकासमेत इष्टकुल देवीदेवताको पूजाआजा गर्न पहाड चढ्न थालेका छन् । 

स्थानीय देवीदेवताका मन्दिरहरू सिँगारिन थालेका छन् भने देवीदेवताको पूजाआजा गर्न मेला, जात्रा आयोजना हुन थालेको छ । डडेलधुराको अमरगढी नगरपालिका–७, पोखराको खोला किनारमा रहेको शैलेश्वर महादेव मसानमा आइतबार राति पूजाआजासहित मेला लागेको वडाध्यक्ष खड्कबहादुर बोहराले बताए । 

उनका अनुसार भारतको वनारसमा दर्ता भएको यो पहिलो देवालय हो । शैलेश्वर महादेवको देवालयमा मङ्गलबार राति १२ बजे पूजाआजा गरी बिहान मेला लाग्ने गरेको छ । सल्लागाउँबाट मन्दिरमा देउरो (देवताका नेजाध्वजा, शङ्खघण्टा, बिकुल, भोकर, सुनचाँदीका गहनासहितको डोली० देवालयमा पु¥याई पूजाआजा गरिने प्रचलन छ । 

यस्तै गन्यापधुरा गाउँपालिका–४ स्थित प्रसिद्ध कैलपाल देवताको जाँत मङ्सिर ४ गते सोमबारबाट सुरु हुने भएको छ । वडाध्यक्ष नरेन्द्रकुमार भट्टले भन्नुभयो, “कैलपाल मन्दिरमा आइतबार रतेडी र सोमबार दिउसेडी जाँत हुने छ ।”

हरेक वर्ष कार्तिक षष्ठीका दिन रतेडी र भोलिपल्ट दिउसेडी जाँत हुने स्थानीय देउपाल देवताका धामी कालुसिंह धानुकले बताउनुभयो । कैलपाल देवताको जाँतका लागि विभिन्न गाउँबाट देउरो आउने गर्छन् । डडेलधुराकै थापला र बैतडी जिल्लाका विभिन्न स्थानमा रहेका कैलपाल देवताको मन्दिरमा एकै दिन जात्रा लाग्ने गर्छ । 

डोटीको थप्साबाट पनि कैलपालमाण्डौँस्थित कैलपाल देवताको मन्दिरमा जात्राको दिन देउरो आउने गर्छ । स्थानीय धार्मिक सांस्कृतिक परम्परा अनुसार कैलपाल मन्दिरमा विभिन्न गाउँबाट देउरो पु¥याई धूप तथा होमपछि पूजा भएको दोस्रो दिन मेला भर्नेको घुइँचो लाग्ने गरेको छ । 

शक्तिको प्रतीकका रूपमा रहेको चर्चित चौलो नाचसमेत प्रदर्शन गरिन्छ । हातमा नाङ्गो तरबार खेलाउँदै पन्चैबाजाको तालमा नाच प्रस्तुत गरिन्छ भने देवीदेवताको पूजाआजा गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । 

गन्यापधुरा क्षेत्रमा प्रसिद्ध लाटागन्याप देवताकै दोस्रो देवालयका रूपमा कैलपाल देवालयलाई मानिन्छ । परापूर्वकालमा पस्या भनेर चिनिने गन्यापधुरा गर्खा तथा डोटीको बान्डुङ्ग्रीसैन, थप्सालगायत क्षेत्रमा बसोबास गर्ने अधिकांश स्थानीय पूजाआजाका समय घर फर्कने गरेका छन् । 

पहाडी क्षेत्रबाट बसाइँ सरेर तराई तथा अन्यत्र गएकाहरू पनि जाँत तथा मेलाको बेला पूजाआजा गर्न यहाँ आइपुग्ने गरेका स्थानीय बताउँछन् । अजयमेरु गाउँपालिका–२ मा रहेको कोला समैजी र अमरगढी नगरपालिका–७ मा रहेको लेगी समैजी मन्दिरमा ७ गते पूजाआजासहित मेला लाग्ने वडाध्यक्ष दत्तीसिंह भण्डारीले बताए । 

गन्यापधुरा गाउँपालिका–२, बडालस्थित लाटागन्याप देवताको मन्दिरमा यही महिनाको ८ गते जात्रा लाग्ने छ । लाटागन्याप देवताको भक्तिस्वरूप बनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हात हातमा समातेर खेलिने भएकाले यस जात्राले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ । 

डोटीको शिखर नगरपालिका र घण्टेश्वर क्षेत्रबाट समेत आआफ्ना रीतिरिवाज कायम गर्न स्थानीयवासी प्रत्येक वर्ष पुग्ने गर्छन् । ढाल, तरबार खेलाई नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको छ । 

स्थानीयस्तरमा आयोजना हुने देवीदेवताका जात्रामा स्थानीय उत्पादनको बिक्रीसमेत हुने गरेको छ । यहाँका प्रसिद्ध उग्रतारा मन्दिर, मेलौली मन्दिर, शैलेश्वरी मन्दिर, निङ्गलासैनी मन्दिर, रणसैनी मन्दिरमा एकै दिन भगवतीको पूजाअर्चना गरिने छ ।  

clock बिहिबार ०७, मङि्सर २०८० १०:३०

प्रतिक्रिया