दक्षिण अफ्रिकाविरुद्ध संघर्षपूर्ण जित निकाल्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा

  शुक्रबार ०१, मङि्सर २०८० ०७:०२

काठमाडौं । दक्षिण अफ्रिकामाथि संघर्षपूर्ण जित निकाल्दै अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ। बिहीबार भएको सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध ३ विकेटको संघर्षपूर्ण जित निकाल्यो। 

कोलकाताको इडन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई जितका लागि २१३ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाएर २१५ रन बनायो। 

जवाफी ब्याटिङ थाल्दा अस्ट्रेलियाको सुरुवात भने राम्रो रह्यो। पहिलो विकेटका लागि डेविड वार्नर र ट्रेभिस हेडले ६० रनको साझेदारी गरे। हेडले ४८ बलमा ६२ रन बनाए। जसक्रममा उनले ९ चौका तथा २ छक्का प्रहार गरे। 

वार्नरले २९ रन बनाए। वार्नर आउट भएपछि अस्ट्रेलियाले सस्तैमा विकेट गुमाउन थालेको थियो। यसबीच पनि स्टिभ स्मिथले ३० र जोस इंग्लिसले २८ रन बनाउँदै अस्ट्रेलियालाई जित दिलाउने आधार तयार गरे। मिचेल स्टार्क १६ र प्याट कमिन्स १४ रनमा नटआउट रहे।

अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाका गेराल्ड कोएत्जी र तबरेज शम्सीले २/२ विकेट लिए। मार्को जेन्सेन, कागिसो रबाडा, एडेन मार्कराम र केशव महाराजले समान १/१ विकेट लिए। 

पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि डेविड मिलरले सर्वाधिक १०१ रन बनाए। ११६ बलमा सामना गरेका उनले ५ चौका र ८ छक्का प्रहार गरे। 

दक्षिण अफ्रिकाको सुरुवात राम्रो रहेन। २४ रन बनाउँदासम्म उसले ४ विकेट गुमाइसकेको थियो। दक्षिण अफ्रिकाविरुद्ध अस्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिन्सले ३/३ तथा र जोस हेजलउड र ट्राभिस हेडले २/२ विकेट लिए। 

५ पटकको विश्वविजेता अस्ट्रेलिया पुन: उपाधिको नजिक पुगेको हो। आठौंपटक विश्वकपको फाइनल पुगेको अस्ट्रेलियाले उपाधिका लागि आइतबार भारतसँग प्रतिस्पर्धा गर्ने भएको हो।  दक्षिण अफ्रिका भने  फेरि एकपल्ट सेमिफाइनलमै रोकियो।

clock शुक्रबार ०१, मङि्सर २०८० ०७:०२

प्रतिक्रिया