भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा, प्रतिद्वन्द्वी आज तय हुने

  बिहिबार ३०, कार्तिक २०८० ०७:४५

काठमाडौं । न्युजिल्यान्डलाई हराउँदै भारत आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ । गएराति मुम्बईको वनखेडे टस्टेडियममा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारत फाइनल पुगेको हो । भारत सन् २०११ पछि पहिलोपटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो ।

भारतले दिएको ३९८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८.५ ओभरमा सबै विकेट गुमाएर ३२७ रन मात्र बनाउन सक्यो ।

न्युजिल्यान्डका लागि डारिल मिचेलले सर्वाधिक १३४ रन बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । यस्तै, कप्तान केन विलियम्सनले ६९ र ग्लेन फिलिप्सले ४१ रन बनाए।

बलिङतर्फ भारतका लागि मोहम्म शामीले सर्वाधिक सात विकेट लिए । जस्प्रित बुमराह, मोहम्मद सिराज र कुलदीप यादवले समान एक–एक रन लिए ।

त्यसअघि टस जितेर  पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा ३९७ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले कीर्तिमानी ११७ रन बनाए । उनले एकदिवसीय खेलमा ५०औं शतक प्रहार गरेका हुन् ।

अघिल्लो साता सचिन तेन्दुल्करको नाममा रहेको ४९ एकदिवसीय शतकको कीर्तिमान बराबरी गरेका कोहलीले बुधबार एकदिवसीय खेलमा सर्वाधिक शतकको नयाँ कीर्तिमान बनाएका हुन् ।

भारतका लागि श्रेयस अय्यरले १०५ रन जोडे। कप्तान रोहित शर्माले ४७ रन जोडे। अर्का ओपनर शुभमन गिल ८० रन र केएल राहुल ३९ रनमा नटआउट रहे। बलिङमा न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए ।

अब उपाधिका लागि भारतले अस्ट्रेलिया र साउथ अफ्रिकाबीचको खेलबाट हुने विजेतासँग खेल्ने छ । यी दुई टिमबीच आज  प्रतिस्पर्धा हुँदै छ ।

clock बिहिबार ३०, कार्तिक २०८० ०७:४५

प्रतिक्रिया