धनगढी एफसीमा मिडफिल्डर ओमप्रकाश अनुबन्धित

  सोमबार २०, कार्तिक २०८० १६:१७

धनगढी । धनगढी एफसीले दास्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि कैलालीका प्रतिभावान युवा मिडफिल्डर ओमप्रकाश चौधरीलाई अनुबन्धित गरेको छ । 

‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साविक उपविजेता धनगढी एफसीले प्लानिङ ब्वाइजलाई यस वर्ष सी डिभिजनबाट बी डिभिजनमा उकाल्न महत्वपूर्ण भूमिका खेलेका प्रतिभावान मिडफिल्डर ओमप्रकाशसँग यस सिजनका भित्र्याएको हो ।

सुदूरपश्चिम ११ स्पोर्टस क्लबबाट देशका विभिन्न भागमा हुने गोल्डकपहरु समेत खेलेका ओमप्रकाश र धनगढी एफसीका अध्यक्ष सुवाश शाहीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौता पत्रमा हस्ताक्षर पश्चात ओमप्रकाशले स्थानीय खेलाडीका रुपमा होम टाउनको टोलीसँग अनुबन्ध हुन पाउँदा खुशी व्यक्त गरे ।

‘धनगढी एफसीमा सम्झौता गर्न पाउँदा एकदमै खुशी छु । पहिलो सिजनको उपविजेता टोलीमा सम्झौता गर्न पाउँदा निकै हर्षित छु । यसपटक टोलीमा पाएको मौकाहरुको पूर्ण सदुपयोग गर्दै टोलीलाई एकस्थान माथि पुर्याउन भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु । अवसरका लागि टोली सम्पूर्ण टोली व्यवस्थापकलाई धन्यवाद ज्ञापन गर्दछु,’ उनले भने । 

यस्तै धनगढी एफसीका अध्यक्ष सुवाश शाहीले मिडफिल्डर ओमप्रकाशलाई स्वागत गर्दै उनको आगमनले टोली थप मजबुद बन्ने प्रतिक्रिया व्यक्त गरे । ‘धनगढी एफसीमा यस सिजन युवा प्रतिभावान मिडफिल्डर ओमप्रकाश चौधरीलाई सम्झौता गर्दा हामी एकदमै उत्साहित छौं । ठूला प्रतियोगिताहरुमा युवाहरुले एक्सोजर पाउनु आवश्यक ठान्दै र उहाँको प्रतिभाको कदर गर्दै हामीले उहाँलाई भित्र्याएका हौं,’ शाहीले भने ।

धनगढी एफसीले यसअघि यूरोपियन लिगहरु खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्व रक्षक फलू डियाग्ने र नेपाली फुटबलमा सफल देखिएका विदेशी खेलाडी ओलाआले अफिजलाई अनुबन्ध गरिसकेको छ  । 

नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मङ्सिर ८ देखि पौष २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ । 
एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका प्रतिभावान मिडफिल्डर आशिष चौधरी रहेका छन् ।  आशिषले शहीद स्मारक लिग ‘ए’ डिभिजन लिगमा चर्च ब्याइज यूनाइटेडबाट खेल्दै टोलीलाई लिगको बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यस्तै अक्सनबाट धनगढी एफसीले साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिश रत्न छुन्जु र रामचन्द्र वाजीलाईं अनुबन्ध गरिसकेको छ ।
 
प्रशिक्षकमा भने धनगढी एफसीले युगोलकिशोर राईंलाई निरन्तरता दिएको छ । धनगढी एफसीको ब्रान्ड एम्बास्डरमा कलाकार तथा चर्चित टिकटकर पवी साँकी रहेकी छिन् । धनगढी एफसीले आफ्नो पहिलो खेल आगामी नोभेम्बर २६ तारिखमा वीरगञ्ज यूनाइटेडसँग खेल्ने तालिका छ ।


 

clock सोमबार २०, कार्तिक २०८० १६:१७

प्रतिक्रिया