प्रदुषण बढेपछि दिल्लीमा सवारी साधनमा जोर विजोर लागू

  सोमबार २०, कार्तिक २०८० १६:००

नयाँ दिल्ली । दिल्लीमा बढ्दो प्रदूषणको बीचमा सरकारले सवारी साधनमा जोर(बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । यो बिजोर–विजोरको नियम नोभेम्बर १३ गतेदेखि २० सम्म एक हप्तासम्म लागू हुनेछ ।

यसअघि, दिल्ली सरकारले गैर(आवश्यक निर्माण, बीएस(३ श्रेणीको पेट्रोल र बीएस(४ श्रेणीको डिजेल गाडीहरू प्रतिबन्ध लगाएको थियो । खराब हावाको गुणस्तरका कारण कक्षा ५ सम्मका विद्यालयलाई नोभेम्बर १० गतेसम्म बन्द गर्न निर्देशन दिइएको छ ।

दिल्लीमा वायुको गुणस्तर नाजुक अर्थात् सबैभन्दा खतरनाक भएको छ । सोमबार (नोभेम्बर ६) दिल्लीमा औसत वायु गुणस्तर सूचकांक ४७०  रेकर्ड गरिएको थियो । यो विश्व स्वास्थ्य संगठनको प्रदूषण सीमा भन्दा २० गुणा बढी हो । डब्ल्यूएचओका अनुसार ० देखि ५० बीचको वायुको सूचकांक सुरक्षित मानिन्छ ।

बढ्दो प्रदूषणलाई लिएर आज दिल्ली सचिवालयमा उच्चस्तरीय बैठक बसेको छ । बैठकपछि दिल्लीका वातावरणमन्त्री गोपाल राईले दिल्लीमा पटाकामाथि प्रतिबन्ध लगाएको र सतर्क रहन निर्देशन दिइएको बताए । 

यसैबीच भारतको कमिशन अफ एयर क्वालिटी म्यानेजमेन्टले ५० प्रतिशत कर्मचारीहरूलाई कार्यालयमा बोलाउन सल्लाह दिएको छ । 

विषाक्त हावाको सम्बन्धमा, वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्लीको राज्य सरकारहरूलाई सरकारी र निजी कार्यालयहरूमा ५० प्रतिशत कर्मचारीहरूलाई कार्यालयमा बोलाउन अपील गरेको छ । बाँकी ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न सल्लाह दिइएको छ ।

बढ्दो प्रदूषणका कारण दिल्लीमा प्रदुषण नियन्त्रणसम्बन्धि ग्रेडेड रेस्पोन्स एक्सन प्लानको चौथो चरण लागू गरिएको छ । यसअन्तर्गत व्यवसायिक सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । तरकारी, फलफूल, औषधिलगायत अत्यावश्यक वस्तु आपूर्ति गर्ने सिएनजी र विद्युतीय ट्रकबाहेक ट्रकको आवतजावतमा रोक लगाइएको छ ।

अहिले दिल्ली विश्वको सबैभन्दा प्रदूषित सहर बनेको छ । स्विस समूह आइक्यूएयरको विश्व वायु गुणस्तर सूचकांकले विश्वका १० सबैभन्दा प्रदूषित शहरहरूमा तीन भारतीय शहरहरू समावेश गरेको छ । जसमा दिल्ली शीर्ष स्थानमा छ भने कोलकाता पाँचौं र मुम्बई छैटौं स्थानमा छ ।

clock सोमबार २०, कार्तिक २०८० १६:००

प्रतिक्रिया