धनगढीमा नयाँ नोट साट्नेको राष्ट्र बैंकमा घुँइचो
धनगढी । हिन्दुहरुको महान चाड वडा दसैंका लागि नयाँ नोट साट्नेहरुको कैलालीको धनगढीमा घुँइचो लागेको छ। बिहान १० नबज्दै नयाँ नोट लिन राष्ट्र बैंक धनगढीमा घुँइचो लाग्ने गरेको हो।
राष्ट्र बैंक प्रदेश कार्यालय धनगढीमा नयाँ नोट लिन सर्वसाधारणको लाइन नै लाग्ने गरेको छ। लाइन कार्यालय बाहिरसम्मै छ। दसैंलाई लक्षित गरी सोमबारदेखि नयाँ नोट सटहीको सुविधा सुरु गरेपछि सर्वसाधारण राष्ट्र बैंकको प्रदेश कार्यालय धनगढी पुग्ने गरेका छन्।
नोट सटहीका लागि सर्वसाधारणहरु कार्यालय नखुल्दै लाइनमा बस्ने गरेका छन्। लाइन बस्नुपरे पनि नयाँ नोट पाउँदा उपभोक्ताहरु खुशी देखिएका छन्। एक जनाले बढीमा १८ हजार ५ सय रुपैयाँसम्मको नोट साट्न पाइरहेका छन्। राष्ट्र बैंकसँगै विभिन्न वाणिज्य बैंकमार्फत पनि नयाँ नोट सटही भइरहेको छ। वाणिज्य बैंकले आफ्ना सबै शाखाबाट नोट सटही गरेका छैनन्।
उनीहरुले नयाँ नोट सटही गर्ने शाखाहरु तोकेका छन्। राष्ट्र बैंक धनगढीका अनुसार ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म उपलब्ध गराउँदै आएको छ। यस वर्षको वडा दसैं, तिहार र छठका लागि सोमबारदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन दुईवटा काउण्टरको व्यवस्था गरिएको राष्ट्र बैंक धनगढीका सूचना अधिकारी अस्मिता गोरखालीले बताइन्। उनका अनुसार १८ हजार ५ सय रुपैयाँ भनेको ५ देखि १ सय रुपैयाँसम्मको एकरएक बन्डल हो।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                         
                        
प्रतिक्रिया