तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकपको तयारी पुरा, उद्घाटन खेलमा आयोजक गौरीगंगा ११ र डोटी भिड्ने

  सोमबार २०, चैत २०७९ १९:०४

धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा भोली मंगलबारदेखि आयोजना हुने जगशक्ती गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप २०७९ को तयारी पुरा भएको छ । ‘खेलौ फूटबल रमेर, खेलकुदको संन्देश, शान्ति स्थायीत्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजनामा हुने सुदुरपश्चिम गौरीगंगा गोल्डकपको तयारी पुरा भएको आयोजकले आज सोमबार पत्रकार सम्मेल गर्दै जानकारी दिएको हो । 

प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नु हुनेछ । उद्घाटन खेलमा आयोजक गौरीगंगा ११ स्पोर्टस क्लब र डोटी जिल्लाको टीम भिड्नेछन । प्रतियोगिता चैत ३० गतेसम्म आयोजना हुनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । 

आयोजक गौरीगंगा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बांके, बर्दिया, नवलपरासी जिल्लाका टीमहरुका साथै नेपाल पुलिस र शसस्त्र प्रहरी बलको टीमको सहभागीता रहेको छ । 

प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेतालाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । 

साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रुपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ भने प्रतियोगिताको ‘म्यान अफ द म्याच’ लाई ट्रफी सहित नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । 

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रबद्र्धधन गर्न, नगर क्षेत्रमा खेलकूदको चहलपहल बढाउन, ब्यवसायीक खेलाडी बनाउन तथा युवालाई खेलकूदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।
 
प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा ईन्टरप्राईजेजको उत्पादन जगशक्ती गोल्ड टिएमटि फलामे छड रहेको छ । मुख्य प्रबद्र्धकमा गौरीगंगा नगरपालिका, सुदुरपश्चिम प्रदेश खेलकुद परिषद, राष्ट्रिय खेलकुद परिषद, नेपाल टेलिकम रहेका छन् । प्रतियोगिताको प्रायोजकहरुमा सिराज ईन्टरनेशनल, न्यु प्लानेट ईन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका छन् ।

clock सोमबार २०, चैत २०७९ १९:०४

प्रतिक्रिया