कञ्चनपुरका ठाउ ठाउमा सीमा स्तम्भ अस्तव्यस्त हुँदा सधैं विवाद
कञ्चनपुर । टनकपुर बाँध छेउमै रहेको ३ नम्बर सीमा स्तम्भ हराएको वर्षौं भयो । स्थानीयका अनुसार उक्त स्तम्भ टनकपुर बाँधको जलाशयको बीच भागमा छ । यही स्तम्भ हराएका कारण उक्त क्षेत्रमा बेलाबेला सीमा विवाद हुने गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले विभिन्न समयमा नेपाली भूभागमा सडक निर्माणदेखि सामुदायिक वनमा वृक्षरोपण र मुक्त हलियाका घर निर्माणमा समेत अवरोध गर्दै आएको छ ।
महाकाली नदीमा हराएको सीमा स्तम्भ यो मात्रै होइन । भीमदत्त नगरपालिका–११ भुजेलामा ०७० सालको बाढीले बगाएको स्तम्भ पनि हराएको छ । त्यसपछि उक्त स्तम्भको खोजी भएको छैन । भीमदत्त–९ खल्लामा पनि महाकाली किनारमा एउटा स्तम्भ ढलेको छ । महाकालीको बाढीले आधा जति ढाकिएको स्तम्भ हराउन सक्ने अवस्थामा छ ।
यसैगरी भीमदत्त–१० जिमुवामा पनि एउटा स्तम्भ वर्षौंदेखि नालामा ढलेको अवस्थामा छ । ‘कतै पिलर ढलेका छन्, कतै हराएका छन्,’ भीमदत्त–१० जिमुवाका भवानीदत्त जोशीले भने, ‘यसकै वहानामा एसएसबीले बेला बेलामा दुःख दिने गरेको छ ।’ उनका अनुसार ब्रम्हृदेवको स्तम्भ टनकपुर बाँध निर्माणकै बेलादेखि हराएको हो । खल्लाको स्तम्भ ०७० को बाढीले ढलाएको हो ।
उसो त ब्रम्हृदेवमा एसएसबीले बस्तीको बीचमै काठको किला गाडेको छ । त्यही किलालाई पिलर मान्दै आएको छ । जसका कारण स्थानीयलाई बेलाबेला दुख भइरहेको छ । खेतीपाती गर्दा होस् वा घर निर्माण गर्दा एसएसबीले अवरोध गर्दै आएको छ । कञ्चनपुरमा मुख्य, सहायक र साना गरी ३ सय ९० स्तम्भ हुनुपर्ने हो । तीमध्ये ३२ वटा हराएका छन् । १ सय ७१ निर्माण नै भएका छैनन् । ४१ वटा नदीमा बगेका छन् । ७ वटाको पुनर्निर्माण गर्नुपर्ने छ । १३ वटाको मर्मत गर्नुपर्ने छ । बाँकी १ सय २६ स्तम्भ मात्रै ठीक साबिक अवस्थाका छन् ।
‘सीमा स्तम्भ नै ठीक अवस्थामा नभए धेरै समस्या आउँछ,’ सीमा सरोकार समूहका अध्यक्ष पल्लवराज भट्टले भने, ‘यसले स्थानीय स्तरमा सानाठूला समस्यासमेत निम्त्याउने गरेको छ ।’ कञ्चनपुरमा ब्रम्हृदेवदेखि पुनर्वासको डोकेबजारसम्म १ सय २९।५ किलोमिटर सीमा भारतसँग जोडिएको छ । उक्त क्षेत्रमा दर्जन बढी ठाउँमा विवाद देखिएको छ ।
सीमा स्तम्भलाई नै देखाएर एसएसबीले दुःख दिइरहेको छ । पिलरकै विवादका कारण एसएसबीले बेलौरी नगरपालिका–८ पचुँईमा हुलाकी सडक निर्माणमा पनि अवरोध गरेको छ । उक्त क्षेत्रमा १२ सय मिटर हुलाकी सडक निर्माण रोकिएको छ । त्यहाँ सीमा स्तम्भ सडकबाट निकै टाढा भए पनि एसएसबीले अवरोध गरिरहेको हो ।
दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभरमा पनि एउटा पिलर केही वर्षअघि महाकालीको बाढीले बगाइसकेको छ । अर्को पिलर महाकालीभन्दा केही पर छ । कुतियाकभरमा महाकालीले निरन्तर कटान गर्दा उक्त पिलरसमेत बगाउने जोखिम छ । बस्तीसँगै पिलर जोगाउन उक्त क्षेत्रमा समयमै कटान रोकथाम गर्नुपर्ने आवश्यक छ ।
चार वर्षअघि नेपाल–भारत संयुक्त सर्भे टोलीले नयाँ नक्साका आधारमा दक्षिणी क्षेत्रबाट नापीको काम सुरु गरेको थियो । सो नापी गर्दा नेपालतर्फ दर्ता जमिनसँगै महाकाली सिँचाइ आयोजनाको नहर समेत भारतमा पर्न थालेपछि स्थानीयले विरोध जनाए । स्थानीयकै विरोधपछि अहिले नापी कार्य स्थगित भएको छ । स्थानीयले स्ट्रिप नक्सा नै खारेजीको माग गरेका छन् ।
जोर पिलर भारतले र विजोर पिलर नेपालले निर्माण तथा मर्मत गर्नुपर्ने हो । स्ट्रिप नक्साको विवादपछि नयाँ पिलर निर्माण मात्रै होइन पुरानाको मर्मतसमेत स्थगित भएको छ । ‘सीमा स्तम्भको मर्मत तथा निर्माणको काम सशस्त्र प्रहरीले गर्नेछ, कात्तिकदेखि लागत स्टिमेट बनाएर काम अगाडि बढ्नेछ,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने, ‘त्यसपछि मर्मत तथा निर्माणको काम सुरु हुनेछ ।’ सीमा सरोकार समूहका अध्यक्ष भट्टका अनुसार अधिकांश विजोर पिलर नै हराएका र मर्मत गर्नुपर्ने छन् । जुन नेपालले नै मर्मत तथा पुननिर्माण गर्नुपर्ने हो । कान्तिपुरबाट
प्रतिक्रिया