कार्यक्रम उद्घाटन र समापनमा अल्मलिएको इलाम नगरपालिका

  शुक्रबार २९, भदौ २०८० १०:१२

इलाम । नेपालको संविधान २०७२ जारी भएपछि मुलुक तीन तहमा विभाजित छ । सङ्घीय, प्रदेश र स्थानीय तहका संरचना मार्फत संविधान कार्यान्वयनमा छ । हरेक स्थानीय सरकार शासकीय अधिकार सम्पन्न छ । संविधानले कुनै पनि तहलाई सानो ठुलोको रूपमा भेदभाव गरेको छैन ।  गाउँ गाउँमा सिहँदरवार अनुरुप धेरै अघि बढेको स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएको पनि एक वर्ष पुरा भइसकेको छ । 

पहिलो निर्वाचनको पाँच वर्षमा स्थानीय तहको आधार निर्माण भइसकेको छ । आधार निर्माण भई विकासको गतिमा अगि बढेका स्थानीय तहमा दोस्रो निर्वाचन पछि विकासले फड्को मार्ने अपेक्षा राखिएको थियो । जस अनुरूप स्थानीय तहले गर्नुपर्ने काम धेरै छन् । तर विकासको आशा बाँडेर निर्वाचनमा होमिएका जनप्रतिनिधि दोस्रो निर्वाचन सम्पन्न भएको एक वर्ष सम्म आफ्नो समय फजुल रूपमा समय खेर फालिरहेका छन् । 

इलाम नगरमा निर्वाचित जनप्रतिनिधि पछिल्लो समय काममा भन्दा पनि कार्यक्रम उद्घाटन, समापन र भ्रमणमा आफ्नो समयलाई बढी खर्चने गरेका छन् । संविधानको अनुसूचीअनुसार स्थानीय तहका विभिन्न २२ अधिकार छन् । नगर प्रहरी, सहकारी संस्था, एफएम सञ्चालन, स्थानीय कर उठाउने अधिकार स्थानीय तहलाई नै दिइएको छ । 

स्थानीय करमा सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमि कर र मालपोत, दण्ड जरिवाना, मनोरञ्जन कर र मालपोत सङ्कलनको अधिकार पनि स्थानीय तहकै छ । 

खानेपानी, साना जलविद्युत् आयोजना, वैकल्पिक ऊर्जा, कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण, स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्तको व्यवस्थापन, स्थानीय स्तरका विकास निर्माणको काम गर्ने अभिभारा पनि स्थानीय सरकारकै हो । विपद् व्यवस्थापन, जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण, भाषा, संस्कृति र ललितकला संरक्षण गर्ने जिम्मेवारी छ । 

सङ्घीयता आइसके पछि पनि गाउँमा हरेक किसिमका समस्याहरू छन् । देश सङ्घीयता नहुँदा भन्दा अगाडीका समस्याहरू ग्रामीण क्षेत्रका गाउँमा जिउका तिउँ भेटिन्छन् । सङ्घीयता आइसके पछि नगरको मुहार फेर्नुको सट्टा,नगरमा आएको बजेट माथि रजाइँ गर्ने नेताहरूको कमी देखिँदैन । गाउँ ,गाउँमा सिहदरवार छ ,भन्छन् तर नागरिकका पीडा जिउका तिउँ छन् । नगरपालिकाका दुर्गम भेगका नागरिकहरूले सहज रूपमा शिक्षा ,स्वास्थ्य,यातायात र खानेपानी पाउँदैनन् । जनप्रतिनिधि काममा भन्दा भाषण दिने कार्यक्रममा समय मिलाउने गर्दछन् । 

इलाम नगरपालिकाका जनप्रतिनिधिको काम हरेक दिन कुनै न कुनै कार्यक्रम उद्घाटन र समापनमा व्यस्त देखिन्छन् । जनप्रतिनिधिको दैनिकी हेर्दा उनीहरूको फुर्सद समेत देखिँदैन तर काम भने उपलब्धि विहीन बन्ने गरेको छ । चुनाव अघि भोट माग्न भाषण गर्दे हिडेका नेताले चुनाव जितेपछि पनि कार्यक्रममा गएर भाषण गर्न बाहेक केही गर्न सकेनन् । 
इलामको पुरानो नगरपालिका र सम्पुर्ण संरचना समेत बनिसकेको इलाम नगरपालिकामा दोस्रो निर्वाचन पछि कामको भेउ नै पाएका छैनन् । सधैँ व्यस्त देखिने नगर प्रमुखको एक वर्ष उपलब्धि विहीन बनेको छ । एक वर्षमा कुनै पनि कामले निकास पाउने गरीको योजना नै अघि बढेको छैन । 

सधै भइरहन्छ नगरको चर्चा 

इलाम नगरपालिका इलाम सदरमुकाममा छ । सदरमुकाम भएकै कारण नगरपालिका जिल्लावासीकै केन्द्रका रुपमा छ । यहाँ रहेका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको काममा समेत जिल्लावासी आउजाउ गरिरहन्छन् ।

इलाम नगरपालिकामा खानेपानीको समस्या सधैँ चर्चामा हुन्छ । यसबारे कतिपय विवाद पनि आउने गरेका छन् । यसको दिगो समाधानको खोजी नगरले अझै गर्न सकेको छैन । उता यहि नगरपालिका छ जिल्ला कै एक मात्र बिमानस्थल जो अहिले बन्द अवस्थामा छ । निर्वाचित भएलगत्तै निकै तामझामका साथ बिमानस्थल संचालन गर्न तमसिएका नगर प्रमुख केदार थापा विमान संचालक गर्न भने सकेनन् । केही समय उडात त भयो उक्त बिमानस्थल बाट तर त्यो पनि बन्द भयो ।  

यसै गरि सिंचाइ सुविधा पुर्याउन नगरले आवश्यक काम गरिरहेको बताइएरहेको भएपनी खासै उपलब्धि देख्न सकिएको छैन अझै । यसअघि नै बालबालिकाका लागि पार्क, व्यापारीका लागि सिटी मार्ट, तरकारी व्यापारीका लागि व्यवस्थित टहरा, पशुहाट निर्माण गरिसकेको नगरले त्यस्को उचित ब्यबस्थापन अहिलेको नगर प्रमुखलाई खडकिरहेको छ । 

नगरमा केही कामहरु सुरु भए पनि पर्याप्त भने देखिएको छैन । नयाँ जनप्रतिनिधि आएको पहिलो वर्ष खासै ठोस उपलब्धिमूलक र देखिने कामहरु नभएको नगरवासीको भनाई छ । वडामा हुने सामान्य कार्यक्रममा ब्यस्त रहने मेयरले योजना बनाएर समृद्ध नगर बनाउन पहल गर्नुपर्ने स्थानीयको माग छ ।

नगरलाई समृद्ध बनाउन सम्बन्धित मन्त्रालयबाट बजेट माग गरेर अघि बढ्न सकियो भने मात्र नगरलाई समद्ध बनाउन सकिन्छ ।नियमित आउने बजेटको मात्र पर्खाइमा रहँदा नगर समृद्ध बन्न सक्दैन ।

विस्तृत आयोजना प्रतिवेदनका लागि (डीपीआर) सर्भे गरेर सम्बन्धित मन्त्रालय तथा निकायमा आवश्यक बजेट माग गरेर काम अघि बढाउन आवश्यक छ । इलाम अस्पताललाई ब्यवस्थित गर्दै सेवा बढाउनसमेत पहल गर्नु अत्यावश्यक देखिएको छ । तर नगरपालिकाले स्वास्थ क्षेत्रमा धरै काम गरेको भनेर अवार्ड पाएको भएता पनि नगरभित्रको स्वस्थ क्षेत्रको दुरावस्थाले झस्काईरहेको छ । त्यतीमात्र नभएर नगरले पाएको उक्त अवार्डको सामाजिक संजालमा चौतर्फी आलोचना भइरहेको छ । 

यता इलाम पर्यटकीय दृष्टिले समृद्ध जिल्ला हो । मुलुककै सबैभन्दा पुरानो चिया बगान अनि पहिलो चिया कारखाना र अन्य धार्मिक एवं पर्यटकीय स्थलहरु रहेको इलाम नगरपालिकाका विभिन्न क्षेत्रहरुमा समेत पर्यटकहरुको उल्लेख्य उपस्थिति रहने गरेको छ । तर नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रचार र अन्य काममा ठोस कदम चाल्न सकेको छैन ।

यहाँ रहेका होटल तथा रेस्टुरेन्टहरुमा मौलिक र नयाँ स्वाद पाइँदैन । बाहिरबाट दक्ष जनशक्ति ल्याएर काम सिकाएर यो क्षेत्रमा पर्यटकलाई सहज सुविधा दिन सकिने सम्भावना छ तर त्यता तिर नगरको ध्यान पुग्न सकेको छैन । पहिल्यै निर्माण र स्थापना भएका कृषि क्याम्पस र आँखा अस्पताललाई व्यवस्थित बनाउनुपर्ने देखिएको छ ।

नगरलाई शिक्षाको ‘हब’ बनाउन सकिन्छ । यहाँ रहेको आदर्श माध्यमिक विद्यालयलाई व्यवस्थित गर्दै परिस्कृत शिक्षा दिन जरुरी छ । अन्य पालिकाका सरकारी विद्यालयमा कक्षा नर्सरीदेखि पढाई हुन्छ । अंगे्रजी माध्यमबाट अध्यापन हुन्छ । व्यावसायिक शिक्षालाई जोड दिने गरी ठोस काम गर्न आवश्यक देखिन्छ ।

नगरको भवन ब्यवस्थित छ । वडाका भवनहरु समेत काम गर्न सकिने खालकै छन् । तर कामको गति अलिक कमी भएको हो कि भन्ने जनताले गुनासो गर्ने गरेका छन् ।

नगरपालिकाका अन्य कामप्रति जनताको खासै चित्त दुखाई नदेखिए पनि खानेपानी वितरणमा गुनासो बढी देखिन्छ । नगरपालिकामा प्रष्ट बहुमत पाएको नेपाली काँग्रेस पार्टीकै धेरै नेता कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत खानेपानी आपूर्तिमा भएको अनियमितता र निर्माण कार्यबारे तिक्तता पोखेका छन् ।

साविक नगरपालिका क्षेत्रको लागि खानेपानी आपुर्ति इलाम नगर पालिकाले जिम्मेवारी लिएको छ । यतिमात्र होइन नगर प्रमुख केदार थापा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष रहेकै बेला नगर प्रमुखमा निर्वाचित भएका हुन् । उनी हालसम्म समितिको अध्यक्ष छन् । 

नगरबासिले फेसबुक पेजमा प्रतिक्रिया दिन पाउदैन

इलाम नगरपालिकाले संचालक गरेको इलाम नगरपालिका नामक फेसबुक पेजमा नगरबासीका प्रतिक्रिया समेन्ट्न बन्देज लगाईएको छ । नगरपालिका बाट पोस्ट भएका सामाग्रीहरुमा प्रतिक्रिया दिन रोक लगाईएको हो । 

नगरले आफुले जस पाउने प्रकृतिका सामाग्रीहरुमा कमेन्ट गर्ने मिल्ने बनाएको छ भने नगरले अन्य पोस्टहरुमा प्रतिक्रिया लेख्न नपाईने बनाएको छ । कारण हो  नगरपालिकाका जनप्रतिनिधिले काम भन्दा बढी भाषण गर्नु । यसले पनि के सन्देश दिन्छ भने नगरमा जनप्रतिनिधिको काम बाट नागरिक सन्तुष्ट छैनन् भन्ने ।

clock शुक्रबार २९, भदौ २०८० १०:१२

प्रतिक्रिया