सुपर फोरमा बंगलादेशविरुद्ध पाकिस्तानको सहज जित

  बिहिबार २१, भदौ २०८० ०६:३०

काठमाडौं । एसिया कप–२०२३ को सुपर फोरमा पाकिस्तानले विजयी सुरुआत गरेको छ । सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बंगलादेशविरुद्ध सात विकेटको सहज जित निकाल्यो । बुधबार गद्दाफी रंगशालामा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पाकिस्तानले ३९.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानको जितमा इमाम उल हकले ७८ रन बनाए । इमामले ८४ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । ७४–२ को अवस्थामा रहँदा इमामले मोहम्मद रिजवानसँग ८५ रनको साझेदारी गर्दै पाकिस्तानलाई जित नजिक पुर्‍याएका थिए ।

पाकिस्तानको जितसम्म अविजित रहेका मोहम्मद रिजवानले ६३ रन थपे । ओपनर फखर जमानले २०, कप्तान बाबर आजमले १७ र आघा सल्मानले १२ रन जोडे ।

बंगलादेशका तक्सिन अहमेद, सोरिफुल इस्लाम र मेह्दी हसन मिराजले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको बंगलादेशले ३८.४ ओभरमा सबै विकेट गुमाएर १९३ रनको योगफल खडा गरेको थियो ।

बंगलादेशका मुसफिकर रहिमले ६४ रन बनाएका थिए । कप्तान साकिब अल हसनले ५३ रन थपे । मोहम्मद नैमले २० रन जोड्दा लिटोन दास र समिम हुसैनले समान १६ रन बनाए ।

बंगलादेशलाई मध्यम योगफलमा रोक्न पाकिस्तानबाट घातक बलिङ गरेका ह्यारिस रौफले चार विकेट लिए । ह्यारिसले ६ ओभरमा १९ रनमात्र खर्चिए । नासिम साहले तीन विकेट लिए । साहिन साह अफ्रिदी, इफ्तिखर अहमेद र फहिम अस्रफले समान एक विकेट हात पारे ।

जितसँगै दुई अंक जोडेको पाकिस्तान सुपर फोरको शीर्ष स्थानमा छ । पाकिस्तान, बंगलादेश, भारत र श्रीलंका चार टिम रहेको सुपर फोरमा सबै टिमले एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्ष दुई टिम उपाधि भिडन्तका लागि फाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको यस संस्करणमा कुल ६ टिम थिए । जसमध्ये नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिसकेका छन् ।

clock बिहिबार २१, भदौ २०८० ०६:३०

प्रतिक्रिया