विश्वकप छनोटमा नेपालको लगातार चौथो जित, एक खेल अगावै सेमिफाइनलमा

  सोमबार १८, भदौ २०८० १०:४९

काठमाडौं । नेपालले एक खेल अगावै आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ। समूह चरणमा लगातार चौथो जित निकाल्ने क्रममा नेपालले कतारलाई ९ विकेटले हरायो।

कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभरमै मात्र १ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको लागि ओपनर काजल श्रेष्ठले सर्वाधिक ३२, इन्दु बर्माले २० र सीता रानामगरले १७ रनको योगदान दिए।

खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कतार निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनमा समेटिएको थियो।

नेपालका लागि इन्दु वर्माले १७ औं ओभरमा तीन विकेट लिएकी थिइन्। इन्दुले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन्। त्यस्तै पूजा महतो र कविता जोशीले एक एक विकेट लिए।

समूह ‘ए’ मा नेपालले यसअघि मलेसिया, बहराइन र भुटानलाई पराजित गरिसकेको छ। नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्।

प्रतियोगितामा दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि(२० क्वालिफायर खेल्न पाउने छन्।

clock सोमबार १८, भदौ २०८० १०:४९

प्रतिक्रिया