सुदूरपश्चिम सरकार विस्तारबारे प्रधानमन्त्रीसँग छलफल : भोलि शीर्ष नेताले निकास दिने

  सोमबार १५, साउन २०८० १४:३०

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार विस्तार बारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल भएको छ । आज बालुवाटारमा भएको छलफलमा भोलि बिहान शीर्ष नेताहरूबीच सुदूरपश्चिम प्रदेश सरकार विस्तारको गाँठो फुकाउने सहमति भएको हो ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्ति पाटीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, आर्थिक मामिला मन्त्री नरेश बहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डसँग नागरिक उन्मुक्तिका नेताहरूले यस अघि भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीलाई २ मन्त्रालय दिनु पर्ने बताएका थिए । मुख्यमन्त्री शाहले केन्द्रबाट प्रदेशको गाँठो फुकाउनु पर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम सरकार विस्तारबारे सहमति गर्न भोली बिहान ९ बर्ष शीर्ष नेताहरू बिच छलफल हुने बताएका छन् । उक्त छलफल पछि प्रदेश सरकार बिस्तार हुने अपेक्षा छ ।
सुदूरपश्चिम प्रदेशमा ७ महिनादेखि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्री विहीन छ भने पृथ्वी बहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि अहिले आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि मुख्यमन्त्री आफैसँग छ ।

अहिलेसम्म दुई मन्त्रालयको अडान लिएको नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालय पाउँछ वा एकै मन्त्रालयमा सरकारमा सहभागी हुन्छ भन्ने कुरा भोली शीर्ष नेताहरू बिचको छलफल पछि मात्रै टुुंगो लाग्ने बताइएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रधानमन्त्री प्रचण्डसँगको छलफल सकारात्मक भएको र भोलि बिहान ९ बजे बैठकमा थप छलफल हुने सहमति भएको जानकारी दिए । यस अघि मुख्यमन्त्री सहितको टोलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटेर सरकार विस्तारबारे शीर्ष नेताहरू बिच सहमति गर्न आग्रह गरेको थियो ।

clock सोमबार १५, साउन २०८० १४:३०

प्रतिक्रिया