कैलालीको गोदावरीमा २५ भन्दा बढी गाई मृत भेटिए

  आइतबार २०, पुष २०८२ ०६:३०

धनगढी । कैलालीको गोदावरी नगरपालिका–७ मा रहेको  छाडा गाईबस्तु नियन्त्रणका लागि स्थापना गरिएको गौसालामा २५ भन्दा बढी गाई मृत अवस्थामा फेला परेका छन्। गाइका बाच्छा हरु समेत मरेका छ्न । घटनाले स्थानीयस्तरमा आक्रोश फैलिएको छ।

नेपाली कांग्रेसका युवा नेता लोक राज पाण्डेले गौसालामा पर्याप्त आहार नपाउँदा र चिसोका कारण कठ्यांग्रिएर गाईहरू मरेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार गौसालामा रहेका गाईहरूलाई समयमै घाँस, दाना तथा उचित व्यवस्थापन नहुँदा यस्तो दुःखद अवस्था आएको हो।

स्थानीय बासिन्दाहरूले सरकारी निकाय र सम्बन्धित निकायको गम्भीर लापरवाहीका कारण पशु चौपाया मर्नु परेको आरोप लगाएका छन्। छाडा गाई नियन्त्रणका नाममा बनाइएको गौसालामै गाईहरूको ज्यान जानु राज्यको गैरजिम्मेवारपनको उदाहरण भएको उनीहरूको भनाइ छ।

युवा व्यवसायी डिल्ली राज अवस्थीले गौमाताको यसरी सामूहिक मृत्यु हुनु अत्यन्तै दुःखद र लज्जास्पद भएको बताउनुभएको छ।

उहाँले भन्नुभयो, “हिन्दु धर्ममाथि प्रहार गर्दै चर्को स्वरमा धर्मनिरपेक्षताको नारा लगाइयो, राज्य मौन बस्यो, संस्कृतिमाथि चोट पुर्‍याइयो। आज गौमाताको यो दुर्दशा त्यसैको परिणाम होइन र रु” उहाँले गौमाताको संरक्षण गर्नुपर्ने राज्य स्वयं लापरवाह बनेको आरोप लगाउँदै प्रश्न गर्नुभयो— “धर्म, संस्कृति र आस्थामाथि निरन्तर प्रहार हुँदा यसको परिणाम यस्तै हुने हो भने यसको जिम्मेवारी कसले लिन्छ ?”

घटनापछि स्थानीय तहको भूमिकामाथि प्रश्न उठेको छ भने दोषीमाथि छानबिन गरी कडा कारबाही गर्न माग गरिएको छ। पशु अधिकारकर्मीहरूले पनि गौसालाको व्यवस्थापन, बजेट खर्च र अनुगमन प्रक्रियाबारे तत्काल छानबिन गर्नुपर्ने बताएका छन्।

clock आइतबार २०, पुष २०८२ ०६:३०

प्रतिक्रिया