जेष्ठ नागरिकलाई निशुल्क प्रवेशपछि महोत्सवमा फैलियो खुसी, आयोजकलाई दिए धन्यबाद
धनगढी । सुदूरपश्चिम महोत्सवमा जेष्ठ नागरिकलाई सम्मानस्वरूप गरिएको निशुल्क प्रवेश व्यवस्थापछि महोत्सव परिसर अझै उत्साहपूर्ण दृश्यले भरिएको छ। प्रवेशद्वार पार गर्दै गर्दा जेष्ठ नागरिकहरूका मुहारमा देखिएको मुस्कानले महोत्सवको माहोललाई थप आत्मीय बनाएको उपस्थितहरूको अनुभव छ।
निशुल्क प्रवेश पाएका धेरै जेष्ठ नागरिकहरूले आयोजकप्रति कृतज्ञता व्यक्त गर्दै आफूहरूलाई सम्झिएकोमा खुसी व्यक्त गरेका छन्। “हामीलाई यति सम्मानका साथ महोत्सवमा बोलाइएको छ, यसले मन नै हर्षित बनायो,” एक जेष्ठ नागरिकले प्रतिक्रिया व्यक्त गरे ।
महोत्सव स्थलको मंचको बायापट्टी जेष्ठ नागरिकका लागि बस्ने छुट्टै ब्यबस्था मिलाएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । जेष्ठ नागरिकहरु कहिले देउडा त कहिले लोकगितमा कलाकार संगै झुमेर रमाइलो गरिरहेका छन ।
आयोजक संस्था कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले जेष्ठ नागरिकप्रतिको सम्मान महोत्सवको प्राथमिकता भएको बताए ।
उनले जेष्ठ नागरिक हाम्रो समाजका स्रोत र प्रेरणाका आधार रहेको बताउदै उहाहरुलाई सम्मानस्वरूप निशुल्क प्रवेशको व्यवस्था गर्नु हाम्रो कर्तव्य र गौरवको बिषय समेत रहेको बताए ।
अध्यक्ष ओझाले महोत्सव प्रवेशपछि उहाहरुको मुहारमा खुशी देखिनु नै हाम्रो सफलता को संकेत रहेको बताए । जेष्ठ नागरिकहरूको सहभागिता र उनीहरूका खुशीयालीले महोत्सवलाई बहुपुस्तीय सहभागिताको उत्सवका रूपमा हेरिएको छ ।
प्रतिक्रिया