मुक्त कमैयाको उद्यमशीलता र जीविकोपार्जनमा मञ्चको सहयोग

  सोमबार १५, मङि्सर २०८२ ०८:५२

धनगढी । मुक्त कमैया, कमलरीको हक, अधिकारको लागि वकालत गर्दै आएको मुक्त कमैया महिला विकास मञ्चले पछिल्लो समय उनीहरुको उद्यमशीलता र जीविकोपार्जनमा सहयोग गरिरहेको छ । 

मुक्त कमैया, कमलरीलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यका साथ मञ्चले उनीहरुलाई आयआर्जनको क्षेत्रमा सहयोग गरिरहेको हो । मञ्चले १२० जनालाई बङ्गुर पालन, ४० जनालाई कुखुरा पालन, १०० जनालाई तरकारी खेती, १६ जनालाई सिलाइकटाइ र १६ जनालाई नास्ता बनाउने तालिम दिएको छ । 

तालिम लिएकामध्ये प्रायः सबैले आ–आफ्नो व्यवसाय सञ्चालन गरेर राम्रो आम्दानी गरिरहेको मञ्चको कार्यक्रम संयोजक इन्द्र चौधरीले बताए । उहाँले २० जनालाई कुटानीपिसानीका लागि तालिमसहित उपकरण सहयोग गरेको जानकारी दिए । 

यसैगरी, तीन समूहलाई दुनाटपरी उत्पादन मसिन सहयोग गरिएको छ । कुटानीपिसानीमा संलग्नले कुखुराका लागि दाना बनाउनेदेखि लिएर बेसार प्याकेजिङ गरेर आम्दानी गरिरहेका छन् ।

२०५५ मा जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता भइ मुक्त कमैया तथा कमलरीको न्यायिक पुनस्र्थापनासहित आर्थिक, सामाजिक अधिकार सुनिश्चितताका लागि वकालत गर्दै आयआर्जनका अवसर सृजना गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

यसैबिच, आज मञ्चको वार्षिक साधारण सभा, छैटौं अधिवेसन र वार्षिक सामाजिक लेखा परीक्षण सम्पन्न गरिएको छ । जिल्ला विकास समन्वय समिति कैलालीका अध्यक्ष टीका भुल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।   

clock सोमबार १५, मङि्सर २०८२ ०८:५२

प्रतिक्रिया