सुदूरपश्चिममा ‘लम्पीस्किन’ रोगबाट झण्डै ११ हजार पशु मरे
धनगढी । सुदूरपश्चिम प्रदेशभित्र पशुहरुमा लाग्ने रोग ‘लम्पीस्किन’ डडेलो झै फैलिएको छ। प्रदेशभित्र ‘लम्पीस्किन’ प्रकोप भयावह बन्दै गएको छ। प्रदेशका नौवटै जिल्लाभित्र पशुहरुमा यो रोग फैलिदैँ गएको हो। सुदूरपश्चिम प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी पुष्करराज नाथले पहाडी सबै जिल्लामा लम्पी देखिएको बताए।
‘तीमध्ये डोटी, अछाम, बझाङ बढी प्रभावित छन्,’ उनले भने, ‘भारतको सीमा जोडिएका क्षेत्रमा बढी प्रभाव देखियो।’ देशभरि फैलिएको लम्पीस्किन रोगबाट सबैभन्दा बढी सुदूरपश्चिम प्रभावित बन्न पुगेको पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेश जोशीले बताए। अहिलेसम्म सुदूरपश्चिममा दुई लाख सात सय ९८ पशु सङ्क्रमित भएकोमा १० हजार नौ सयभन्दा बढी पशु मरिसकेका छन्।
प्रदेशभित्र गाई र भैंसीको सङ्ख्या १५ लाख ८२ हजार रहेकोमा झण्डै १२ दशमलब सात प्रतिशत पशुमा सङक्रमित भइसकेको अन्वेषण प्रयोगशालाले जनाइएको छ। प्रदेशभरि ७९ हजार एक सय ८८ गाई, ७७ हजार चार सय ७१ गोरु, ३९ हजार ८८ बाच्छाबाच्छी तथा पाँच हजार ५१ भैंसी राँगो पाडापाडी सङ्क्रमित भएका छन्।
यो रोगले पशुको विभिन्न भागमा साना ठूला गिर्खा देखिने, उच्च ज्वरो आउने, आँखामा कचेरा जम्मा हुने, सिगान बग्ने, खाना खान नसक्ने, मुखबाट धेरै फिँज निकाल्ने लगायत लक्षण देखिने पशुरोग चिकित्सकहरुले बताएका छन्। यो रोग लागेपछि दूधालु गाईभैंसीको झण्डै ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने गरेको छ भने अर्कोतिर गोरु बिरामी पर्दा किसानले आर्थिक क्षति व्यहोर्नु परेको छ। लामखुट्टे, झिँगा र किर्नाको राम्रो व्यवस्थापन गर्न सक्नु नै यो रोगको रोगथामको उपाय भएको पशु चिकित्सकको सुझाव छ।
रोग लागिसकेको पशुको ठोस् उपचार विधि नभएका कारण लक्षणकै आधारमा उपचार व्यवस्थापन गर्नुपर्ने हुन्छ। रोगले सुदूरपश्चिममा महामारीको रूप लिएकोले पालिका तहले आफ्नो बजेट कार्यक्रममा रोग नियन्त्रणका लागि बजेट विनियोजन गर्न अति आवश्यक भइसकेको चिकित्सकले बताएका छन्। क्षेत्रीय पशुसेवा तालिम केन्द्र, धनगढीका प्रमुख डाक्टर हेमराज अवस्थीले यो रोगले गोरु मर्न थालेपछि धेरै किसान प्रभावित बनेको बताए। घरमा जोत्ने गोरु र दुहुनो गाई मर्दा पुगेको क्षतिले किसानमा रुवावासी छ।
पशु सेवा विभागका अनुसार रोग लागेसँगै गाईभैंसीको दूध उत्पादन ह्वात्तै घट्छ। रोग देखिनेबित्तिकै गाईभैंसीलाई बथानबाट छुट्याएर अलग्गै राख्न विभागको सुझाव छ। ज्वरो आएका पशुलाई जोत्ने, गाडा तान्ने काममा नलगाई आराम गराउने र प्रशस्त मात्रामा सफा पानी खान दिनुपर्छ। रोग लागेपछि ज्वरो घटाउन पारासिटामोल वा मेलोक्सिकेम प्रयोग गर्नुपर्छ।
घाउको चिलाइ न्यूनीकरणका लागि औषधिको प्रयोग गर्ने, फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक मलम लगाउने गर्नुपर्छ। रोगका कारण शिथिल पशुलाई आवश्यकताअनुसार स्लाइन दिनुपर्छ। शरीरमा गिर्खाको संख्या अत्यधिक भएका पशुलाई आइभरमेक्टिन र घाउ पाकेको अवस्थामा प्राविधिकको सल्लाहअनुसार एन्टिबायोटिक्सको सुई लगाउनुपर्छ।
प्रतिक्रिया