कैलालीमा श्रृखलाबद्ध अपराधः सातामै त्रासदीपूर्ण आक्रमणका ३ घटना

  बिहिबार ३०, असोज २०८२ १२:०२

धनगढी । घोडाघोडी नगरपालिका वडा नं ६ स्थित अस्थायी प्रहरी पोस्ट प्रतिखेत बसन्तमा असोज २४ गते शुक्रवार राती ११ बजेर २२ मिनेटमा दुई युवक रक्ताम्मे रेटिएको टाउको बोकेर पुगे। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वाड नं ८ स्थित जरै मा २८ वर्षीय युवक केशर बहादुर बुढाको बीभत्स हत्या गरेर १९ वर्षीय बल बहादुर विक र १९ वर्षीय गङ्गा बुढा क्षेत्री टाउको बोकेर प्रहरी पोस्टमा पुगेका थिए। चिनजान पनि नभएका युवकलाई सामान्य विवादमा टाउको नै छिनालेर उनीहरूले हत्या गरे। टाउको बोकेर प्रहरीमा पुगेका ती दुई अभियुक्तलाई हत्या कस्को गरेका हौँ भनेर जानकारी समेत नभएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले बताए। पछि मृतकको मोबाइलको नम्बर हेरेपछि सनाखत हुन सकेको थियो ।

मोहन्याल गाउँपालिका सँग सिमाना जोडिएको घोडाघोडी नगरपालिका वडा नं ८ जरै बस्तीमा रहेको खाजा पसलमा मदिरा खाने वेला भेट भएका केशरलाई उनीहरूले बीभत्स हत्या गरेका हुन। गाली गरेको निहुँमा ती दुई जनाले हान्दा ती युवक नालीमा ढले । नालीमा ढलेपछि वल बहादुर करिब १ सय मिटरको दुरीमा रहेको घर गएर हँसिया ल्याएर आई केशरको टाउको छिनालेको थियो । वाँखी शरीर घटनास्थलमै छोडेर टाउको बोकेर विक र बुढा प्रहरी पोस्ट पुगेका थिए । घटनास्थलबाट करिब आधा घण्टा हिँडेर अभियुक्त प्रहरी पोस्ट पुगेका थिए ।

कैलाली गोदावरी नगरपालिका वडा नं १० खमौरामा ३५ वर्षीय शेरबहादुर चौधरी राती घरमा सुतिरहेका थिए । असोज २४गतेको बिहान २ बजेतिर लोकेन्द्र मल्ल र उनका भाइ विकास मल्ल आएर ज्यान मार्ने भन्दै भित्र प्रवेश गर्न ढोका फोड्न थाले। ज्यान मार्ने भन्दै राती आएर ढोका फोड्न थालेपछि डरले चौधरी पछाडिको ढोका वाट भागेर निस्के। भागेको चौधरीको शव दिउसो घर नजिकै ओलानी र गोदावरी नदी मिल्ने दोभानमा फेला परेको प्रहरीले बताएको छ। मुखबाट रगत बगेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायव उपरीक्षक रण बहादुर चन्दले बताए। पोस्टमार्टमको रिपोट आईनसकेकोले र घटना अनुसन्धान भइरहेको उनले बताए। मृतका आफन्तले चौधरीलाई लखेटी लखेटी हत्या गरेको भन्दै दुवै जना मल्लका विरुद्ध किटानी उजुरी दिएका छन्। ज्यानमार्ने धम्की सहित ढोका तोडफोड गरेको भन्दै राती नै दुवै जनालाई पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले बताए। अघिल्लो दिन दोहोरीमा भएको सामान्य विवादलाई लिएर उनको घरमा आक्रमण गरिएको बुझिएको छ।

कैलाली गोदावरी नगरपालिका ४ स्थित शुभम् होटेलमा आइतबार राती युवाहरूको एक समूह प्रवेश गरेर डडेलधुरा नवदुर्गा गाउँपालिका वडा नं १ का ३२ वर्षीय गौरव ऐर माथि चक्कु प्रहार ग¥यो। टाउको, हात लगायतमा चक्कु लागेका ऐरलाई अवस्था गंभिर भएकोले उपचारार्थ भारतको रुद्रपुर लगिएको छ। उनलाई चक्कु प्रहार गर्ने ११ जना लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक चन्दले बताए। भारत तर्फ भाग्न लागेका उनीहरूलाई सोमवार राती कैलाली त्रिनगर सीमा नजिक बाट पक्राउ गरिएको उनले बताए।

‘कोव्रा सरकार’ नामक ग्याङका सन्नी नेपाली सहितका ११ जना पक्राउ परेको बुझिएको छ। यस अघि यही समूहका युवाले गत वर्ष अत्तरिया बिद्युत प्राधिकरणका कर्मचारी माथि खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारमा संलग्न नेपाली फरार रहेका थिए। भने प्रविन शाही पक्राउ परेका थिए। फरार अवस्थामा रहेका नेपालीको समूहले फेरी अर्को घटना गरेको प्रहरीले बताएको छ। कैलालीमा पछिल्लो एक साता यता घटेका यी ३ त्रासदीपूर्ण घटना हुन। श्रृखलाबद्ध रूपमा अपराधका घटना बढेपछि स्थानीय त्रसित बनेका छन्।

घरमा सुतिरहेको व्यक्ती ज्यान बचाउन भाग्नुपर्ने, घरबाट नजिकै पसलमा खाजा खान गएको व्यक्तिको टाउको छिनालीनु, होटेलमा बसेका वेला १०, १५ जनाको समूहले खुकुरी प्रहार गर्नु जस्ता एक पछि अर्को अपराधका घटनाले समाजमा त्रास छाएको स्थानीयको भनाई छ। कैलाली कारागार बाट भागेका सयौँ कैदीहरू समुदायमै रहेका छन्। कैलाली कारागारका जेलर चिरञ्जीवी सापकोटाका अनुसार कैलाली कारागारबाट भागेका कैदी मध्य २ सय ८५ जना अझै फरार नै रहेका छन्। कारागार बाट सजिलै कैदी भागेर समुदायमा आउन पाएकाले अपराधीक क्रियाकलापमा संलग्न व्यक्तिको मनोबल बढेर अपराधका घटनामा वृद्धि भएको विश्लेषण गरिएको छ ।

कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले कारागारबाट भागेर फरार रहेका कैदीबाट अहिले सम्म कैलालीमा अपराधका घटना नघटेको बताए । तर पनि कारागार बाट भागेका कैदी बाहिर भएकाले अपराध गर्ने अन्य व्यक्तिको मनोबल बढेको हुन सक्ने उनले बताए।

clock बिहिबार ३०, असोज २०८२ १२:०२

प्रतिक्रिया